समाज

जाजरकोट पहिरो अपडेट : अझै एक वेपत्ता, आठको शव भेटियो, मौसमका कारण उद्वार स्थगित (भिडियो)

जाजरकाेट - जाजरकोटको भेरी नगरपालिका–३ ठाटिबजारमा गएको पहिरोमा परी पुरिएका मध्ये ८ जनाकाे शव फेला परेको छ।

मृत्यु हुनेमा १३ वर्षीय नरेन्द्र परियार, ११ वर्षीय नविन परियार, ८ वर्षीय दर्शक परियार रहेका छन्। यस्तै नेपाल पत्रकार महासंघ जाजरकोटका सदस्य तिर्थ बहादुर बोहराकी ८ वर्षीया छोरी नज्मा बाेहराकाे पनि पहिराेमा पुरिएर मृत्यु भएकाे छ। यस्तै मृत्यु हुनेमा २५ वर्षीया तिर्सना सितला लुहार, उनकी छाेरी ९ वर्षीया भगवति बिक, ६ वर्षीया रञ्जना बिक र ३ वर्षीया मनिषा बिक रहेका छन्। पहिराेमा परी सितलाका श्रीमान ३१ वर्षीय लालबहादुर  लुहारकाे घाइते अवस्थामा उद्दार गरिएकाे छ भने उनकाे जाजरकाेट अस्पतालमा उपचार भइरहेकाे छ। ८ वर्षीय गाेविन्द परियार पहिरोमा वेपत्ता छन्।

 

पहिरो आज विहान सात बजेतिर गएको प्रहरीले जनाएकाे छ। पहिरोमा परी दुई घर पुरिएका छन्।

स्थानिय ओमजङ शाहको घर मुनिबाट गएको पहिरोले पानीनाउला जाने बाटोको छेउमा रहेको पत्रकार बोहरा र गोपाल सुनारको घर पुरएको हो। पहिरोमा पुरिनेमा युबा, महिला र धेरै बालबालिकाहरु रहेको स्थानीय लबकुमार पुनले बताए।

पहिरोमा पुरिएकाहरुको नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयले उद्दार गरे। तर मौसमका कारण उद्वारमा कठिनाइ भएपछि अहिले उद्वार कार्य रोकिएको छ। 

प्रकाशित: २० श्रावण २०७५ ०३:५७ आइतबार

जाजरकोट पहिरो अपडेट वेपत्ता आठको शव भेटियो मौसमका कारण उद्वार स्थगित भिडियो