समाज

चितवनमा सहकारी लक्षित चाेरी बढ्दाे

प्रभात दिदीबहिनी वचत तथा ऋण सहकारीमा भएको चोरीमा फुटेको सेफ। तस्बिर : सविता/नागरिक

चितवन - भरतपुर महानगरपालिका–१२, पारिजात टोलमा रहेको प्रभात दिदीबहिनी वचत तथा ऋण सहकारी संस्थामा यही साउन १३ गते राति चोरी भयो। फलामको सेफमा राखिएको ५ लाख ४८ हजार ६६० रुपैंयाँ चोरी भएको सहकारीकी अध्यक्ष सरस्वती कतिला शाहले जानकारी दिइन्।

झ्यालको ग्रिल उप्काएर चोरी गर्दा कार्यालयमा राखिएको सिसिटिभीको डिभिआरसमेत लगेको उनले बताइन्। नगद चोरी तथा कार्यालयको सेफ, फर्निचर, सिसिटिभीमा भएको क्षतिसमेत गरेर ६ लाख २६ हजार ६६० रुपैयाँ बराबरको नोक्सान भएको अध्यक्ष शाहको भनाइ छ।

आर्थिक वर्ष २०७४/०७५ मा जिल्ला प्रहरी कार्यालय चितवनमा १७ वटा चोरीका घटना दर्ता भएका छन्। जसमा ६ वटा सहकारीमा भएका चोरी घटना रहेको प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए।

चितवन जिल्ला वचत तथा ऋण सहकारी संघका अनुसार पछिल्लो ६ महिनामा जिल्लामा नौवटा सहकारीमा चोरी भएका छन्। केही महिनादेखि जिल्लामा सहकारी संस्थामा चोरी हुने क्रम बढेको छ।

यसअघि सहकारीमा १० हजारदेखि डेढ लाख रुपैयाँसम्म चोरी भएका उजुरी आएको उनले बताए । १७ वटा चोरीका घटनामा प्रहरीले २७ जनालाई पक्राउ गरेको उनले जानकारी दिए । घटनामा संलग्न १३ जना फरार रहेको प्रहरी नायब निरीक्षक ढकालले बताए। सहकारी चोरीका ६ घटनामध्ये प्रहरीले चार घटनाका अभियुक्तलाई पक्राउ गरी प्रहरीले अनुसन्धान अघि बढाएको छ । सहकारी चोरीमा संलग्नहरू फरक–फरक व्यक्ति पाइएको उनले बताए।

चितवन जिल्ला वचत तथा ऋण सहकारी संघका अनुसार पछिल्लो ६ महिनामा जिल्लामा नौवटा सहकारीमा चोरी भएका छन्। केही महिनादेखि जिल्लामा सहकारी संस्थामा चोरी हुने क्रम बढेको संघका अध्यक्ष तेजेन्द्र खड्का बताउँछन्। संघलाई जानकारी आएको घटना संख्या हेर्दा सहकारी संस्थालाई नै लक्ष्य गरी चोरी भएको देखिएको उनले बताए। ‘संस्थामा राति रकम राख्नु हुँदैन,’ अध्यक्ष खड्काले भने, ‘राख्नैपर्ने भए भरपर्दो सुरक्षा उपाय अपनाउनुपर्छ।’ प्रहरी प्रशासनले चोरीमा संलग्नलाई पक्राउ गरेर सहकारी चोरी गर्ने प्रवृत्तिलाई निरुत्साहन गर्नुपर्ने उनको भनाइ छ। सहकारी चोरी बढेपछि यसका सञ्चालकले प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका छन्।

नगद तथा तत्काल बिक्री हुने सामान चोरी हुने क्रम बढेको प्रहरी प्रवक्ता ढकाल बताउँछन्। सुनचाँदी पसल तथा मोबाइल, ल्यापटप पसलका सामान तुरुन्तै बिक्री गरेर नगद बनाउन सकिने भएकाले यस्ता पसल चोरी बढी हुने गरेको उनको भनाइ छ। ‘केही घटना हेर्दा एक थोक मात्र चोर्ने गरेको पाइएको छ,’ उनले भने, ‘मोबाइल, ल्यापटप चोर्नेले सोही सामान मात्र, गरगहना चोर्नेले गरगहना तथा नगद चोर्नेले नगद मात्र चोर्दै आएको देखिन्छ।’

चोरेको सामानलाई नगद बनाउन तथा सामान व्यवस्थापन गर्न चुनौती नहोस् भनेर यसरी चोर्ने गरिएको पाइएको प्रहरी नायब उपरीक्षक ढकालले बताए। चितवनमा मोबाइल तथा ल्यापटप चोरी गर्नेहरूको ‘कनेक्सन’ भारतको घोरासेनसम्म रहेको पाइएको उनले बताए। चितवनसहित गोरखा, तनहुँ र पोखरामा चोरी गर्ने समूह एउटै भएको पाएपछि अनुसन्धान गर्दा घोरासेनबाटै पेशेवर चोर आएर चोरी गरेको पाइएको उनले जानकारी दिए।

भारतीय प्रहरीसँग सहकार्य गरी एक जनालाई पक्राउ गरेर भारतकै अदालतमा पेश गरिएको उनले बताए। जिल्ला प्रहरी कार्यालयले पेशेवर चोर नियन्त्रण गर्न पाँच सदस्यीय अनुसन्धान समूह बनाएर काम गरिरहेको उनले जानकारी दिए। उनका अनुसार चितवनमा मोबाइल, साइकल, थोरै नगद चोरीका सामान्य घटना भने दैनिक एउटा न एउटा हुने गरेको छ।

चोरीका सामानहरू धेरैजसो बरामद हुन नसक्ने भएकाले प्रमाण पु¥याउन समस्या हुने गरेको प्रहरी नायब उपरीक्षक ढकाल बताउँछन्। सामान बिक्री गरिहाल्ने, सुनचाँदी भए गलाउने भएकाले चोरीका सबै सामान बरामद हुँदैनन्। जिल्ला प्रहरी कार्यालयका अनुसार अघिल्लो आर्थिक वर्षमा चितवनमा चोरीका २० घटना भएका थिए। जसमा संलग्न ३३ जनालाई पक्राउ गरी प्रहरीले कारबाही अघि बढाएको थियो।

प्रकाशित: २० श्रावण २०७५ ०१:५२ आइतबार

चितवनमा सहकारी लक्षित चाेरी बढ्दाे