समाज

करेन्ट लाग्दा हलेसीमा एक जनाको मृत्यु

खोटाङ – करेन्ट लागेर खोटाङमा एक  जनाको मृत्यु भएको छ। हलेसी तुवाचुङ नगरपालिका–७ महादेबस्थानको ऐसेलुखर्क बस्दै आएका किरातको शुक्रबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी लोकदर्शन थापाले जनाए। घरमा जडान गरिएको विद्युत प्लगमा तार जोड्नेक्रममा उनकोे मृत्यु भएको हो।
किरातको शव घरको सिकुवामा विद्युतको तार समातिरहेकै अवस्थामा आफन्तले फेला पारेका थिए। भूकम्पले घर भत्किएपछि आवास निर्माणको काम गरिरहेका किरातले हाल बस्दै आएको टहरामा विद्युत् लैजाने प्रयास गर्दा करेन्ट लागेको अनुमान गरिएको छ। खाली खुट्टा भएको अवस्थामा नाङ्गो तार छुन पुग्दा किरातको मृत्यु भएको हुनसक्ने स्थानीय देबराज केसीले बताए ।उनलाई दिउँसो ३ बजेतिर करेन्ट लागेको स्थानीयको अनुमान छ। 
मृतक किराँत स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा माओबादी केन्द्रकातर्फबाट वडाध्यक्षका उम्मेद्वार हुन्। बालबच्चा धितुङमा राखेका उनी आफू भने ऐसेलुखर्क बस्दै आएका थिए । 

 

प्रकाशित: १८ श्रावण २०७५ १२:५६ शुक्रबार

करेन्ट लाग्दा हलेसीमा जनाको मृत्यु