समाज

सर्पले डसेर एक महिलाको मृत्यु

उदयपुर– सर्पले डसेर कटारीमा एक महिलाको मृत्यु भएको छ।कटारी–२ गिद्धवरकी २३ वर्षीया यशोदा कट्टेललाई मंगलबार विहानै गोठ गएका समयमा सर्पले टोकेको थियो।

कट्टेललाई कटारी–१ बेलसोतस्थित नेपाली सेनाको गणमा रहेको सर्पदंश उपचार केन्द्र पुर्याइएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि सिराहाको चोहर्वास्थित नेपाली सेनाकै गणतर्फ लैजाने क्रममा उनको मृत्यु भएको मृतकका जेठाजु मोहन कट्टेलले जानकारी दिए।   
उदयपुरमा बिषालु सर्पको डसाईले मृत्यु हुने क्रम बढेको छ। यसअघि १५ दिनको अवधिमा सर्पदंशले ३ जनाको मृत्यु भइसकेको छ। केही दिन अघि कटारी २ गुराँसेका १० वर्षीय बालकको मृत्यु भएको थियो । २ साताअघि कटारी ४ सिम्लेमा हजुरआमा र नातिनीको राति सुतिरहेको अवस्थामा सर्पले डसेर मृत्यु भएको थियो। सर्पको डसाईबाट २ सातामा ४ जनाको मृत्यु भईसकेपछि कटारी र त्रिबेणी क्षेत्रका स्थानीय त्रसित बनेका छन्। खासगरी वर्षायाममा त्यस क्षेत्रमा बिषालु सर्पको बिगबिगी हुने गरेको स्थानीय बताउँछन्। 

 

 

प्रकाशित: १६ श्रावण २०७५ १२:४७ बुधबार

सर्पले डसेर महिलाको मृत्यु