समाज

एकै रात तीनजनाको हत्या

राजविराज - सप्तरी सदरमुकाम राजविराज नगरपालिकाअन्तर्गत पर्छ मुसहरनियाँ गाउँ, मुख्य बजार क्षेत्रबाट झन्डै ५ किलोमिटर दक्षिणपूर्वमा ।

पक्की सडक नभए पनि सदरमुकाम क्षेत्रसँग सहज आवतजावत हुन सक्ने गाउँ हो यो । गत जेठ २६ गते राति यसै गाउँका सुरज भनिने सूर्यनारायण साह, उनकी पत्नी र पाँच वर्षीया छोरीको सामूहिक हत्या भयो ।घटना भएको डेढ महिनाभन्दा बढी बितिसकेको छ तर सूर्यनारायण र छोरी प्रतिभाको शव अझै भेटिएको छैन । सूर्यनारायणका भाइ र बुहारीसहित १० जनाजतिको संलग्नतामा उक्त घटना गराइएको प्रहरीको अनुमान छ । तीमध्ये पाँचजना अभियुक्त पक्राउ परेका छन् भने बाँकी फरार छन् ।

१० जनाको संलग्नता, अझै भेटिएन बुवा–छोरीको शव

अभियुक्तहरुको बयानकै आधारमा प्रहरीले मृतकको घरदेखि दुई किलोमिटर उत्तरपश्चिमतर्फ रहेको पश्चिमी कोसी नहरको खाँडो साइफनमा दुई दिनदेखि शव खोज्ने कार्य जारी राखेको छ । तर अझै सफलता नमिलेको मंगलबार जिल्ला प्रहरी कार्यालय सप्तरीमा आयेजित पत्रकार सम्मेलनमा एसपी मुकेशकुमार सिंहले जानकारी दिए।

हत्याको अभियोगमा सूर्यनारायणका भाइ मुर्जा भनिने पञ्चदेव साह, उनकी पत्नी प्रमिलादेवी साह, छिमेकीहरु धर्मेन्द्र साह, सत्यनारायण साह र थापा भनिने जिवछ साह पक्राउ परेको सिंहले बताए । मुलुकी ऐनको ज्यानसम्बन्धी महल १० को दफा १३ (३) बमोजिम अभियुक्तउपर कर्तव्य ज्यान शीर्षकमा मुद्दा चलाइएको उनले जानकारी दिए । सप्तरी जिल्ला अदालतमा दायर गरिएको मुद्दामा अभियुक्तहलाई सर्वस्वसहित जन्मकैदको सजाय माग गरिएको छ । अदालतकै आदेशमा म्याद थप गरी अभियुक्तहरुउपर थप छानबिन भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार फरार अभियुक्तको खोजी जारी छ ।

अभियुक्तहरुको बयानका आधारमा प्रहरीले मृतकको घरदेखि दुई किलोमिटर उत्तरपश्चिमतर्फ रहेको पश्चिमी कोसी नहरको खाँडो साइफनमा दुई दिनदेखि शव खोज्ने कार्य जारी राखेको छ ।
 

यसरी गरियो हत्या
अभियुक्तले प्रहरीसमक्ष दिएको प्रारम्भिक बयानअनुसार दाजुभाइबीचको पारिवारिक झगडा तथा अंश विवादका कारण सूर्यनारायण, पत्नी बेचनी र छोरी प्रतिभाको सामूहिक भएको हो ।

जेठ २६ गते साँझ गाउँकै हटियाछेउको बाँसघारीनजिक प्रमिलाबाहेक पक्राउ परेका धर्मेन्द्र साह, सत्यनारायण साह र थापा भनिने जिवछ साह तथा फरार रहेका अभियुक्त पूर्वनियोजित रुपमा रक्सी सेवन गर्न बसेका थिए । उनीहरुले छोरीसहित हटियातिर हिँडेका सूर्यनारायणलाई पनि रक्सी खान बोलाए ।

पूर्वयोजनाअनुरुप अभियुक्तले थोरैथोरै खाए भने सूर्यनारायणलाई थपीथपी खुवाए । अँध्यारो गाढा भएपछि रक्सिको नशामा लट्ठिएका सूर्यनारायणको घाँटी थिचेर हत्या गरियो त्यसपछि छोरी प्रतिभाको पनि हत्या गरियो । दुवैका शवलाई बोरामा बाँधेर नहरको साइफनभित्र गाडिदिए अभियुक्तहरु घर फर्के । त्यति बेला रातिको करिब ९ बज्दै थियो । सूर्यनारायणकी चार महिनाको गर्भवती पत्नी बेचनी घरमा सुतिरहेकी थिइन् ।

एकैचोटि उनीमाथि आक्रमण भयो । उनको पनि घाँटी थिचेर हत्या गरियो । सुरुमा बेचनीको शव पनि साइफनभित्रै गाड्ने योजना थियो तर गाउँबाट झन्डै दुई किलोमिटर टाढा रहेकोले आँगनमै रहेको शौचालयको सेफ्टी ट्यांकीभित्र बेचनीको शव फालियो । सेफ्टीट्यांकीभित्र फालिएको शकुहिएर गनाउन थालेपछि गाउँलेहरुले जेठ ३१ गते राति प्रहरीलाई खबर गरेका थिए । त्यसपछि मात्र उक्त हत्याकाण्डको रहस्य खुलेको थियो ।

प्रकाशित: १६ श्रावण २०७५ ००:५० बुधबार

एकै रात तीनजनाको हत्या