समाज

डिजिटल बन्यो जुम्लाकाे गुठिचौर

विद्युतिय हाजिरी गर्दै प्रमुख प्रशासकिय अधिकृत केशवराज शर्मा । तस्विर : डिबी बुढा/नागरिक

जुम्ला - जुम्लाको गुठिचौर गाउँपालिका डिजिटल गाउँपालिकाका रुपमा स्थापित भएको छ। गाउँपालिका कार्यालयमा ईन्टरनेट, २४ सै घण्टा पावर सिस्टम, विद्युतीय हाजिरी र सिसी क्यामरा जडानसँगै गाउँपालिका डिजिटलमय बनेको हो। जुम्लाका एक नगरपालिका र सात वटा गाउँपालिका मध्ये प्रविधिको रुपमा फड्को मार्ने पहिलो गाउँपालिका गुठिचौर बनेको छ। 

प्रमुुख प्रशासकीय अधिकृत केशवराज शर्माले गाउँपालिकाका सवै वडा र विद्यालयमा क्रमिक रुपमा ईन्टरनेट र डिजिटल हाजिरी जडान गर्ने कार्य भईरहेको वताए। उनले भने, ‘स्थानीय तहमा सुशासन कायम राख्न र जनसेवामा कर्मचारीले दत्तचित्त भएर काम गरे नगरेको वारेमा निगरानी राख्न यो प्रविधिले महत्वपुर्ण भुमिका खेल्ने अपेक्षा गरिएको छ।’ गाउँपालिका भित्रका ५ वटा वडामै पावर सिस्टम जडान भईसकेको छ। 

'कर्मचारी नियमित आए नआएको विद्युतीय हाजिरीले प्रमाणित गर्नेछ, गाउँपालिका र वडा कार्यालय भित्र भईरहेका हरेक क्रियाकलापको सिसि क्यामराले निगरानी राख्ने छ,' उनले भने,‘ डिजिटल प्रविधि जडान सँगै यहाँका विकृति विसंगतिको अन्त्य हुने विश्वास गरिएको छ, यसका लागि सवैको साथ र सहयोग अनिवार्य छ।’

गुठिचौर गाउँपालिका अध्यक्ष हरीवहादुर भण्डारीले जिल्लाकै पहिलो डिजिटल गाउँपालिका बनाउन सकेकोमा गर्व लागेको वताए। उनले भने, ‘यो कार्यले  काम गर्नकालागि कर्मचारी, जनप्रतिनिधी सवैलाई उत्प्रेरणा दिनेछ, प्रत्येक वडा कार्यालय र विद्यालयहरुमा समेत यो प्रविधि जडान गरिने छ, जतिवेला गएपनि विद्युतिय हाजिरी र सिसि क्यामराको फुटेज हेरेर भए गरेका क्रियाकलाप हेर्न र वुझ्न सकिने छ।’

 

प्रकाशित: १४ श्रावण २०७५ ११:०८ सोमबार

डिजिटल बन्यो जुम्लाकाे गुठिचौर