समाज

फेसबुकमार्फत रकम जुटाएर बिरामीलाई सहयोग

खोटाङ – ‘हाम्रो आवाज परिवर्तन समाज’ नामक फेसबुक पेजका सञ्चालकले बिभिन्न दिर्घ रोगबाट पिडित बिरामीलाई आर्थिक सहयोग गरेको छ। नेपालका ‘पूर्व–पश्चिम, उत्तर–दक्षिण’का ६१ युवाले सञ्चालन गरेको फेसबुक पेजमार्फत रकम संकलन गरेर समाजले पाँचथर मिक्लाजुङ गाउँपालिका–३ की बोनम्यारो क्यान्सर पिडित एलिस्ना राईदेखि पोखराकी बुद्धमायाँ बिश्वकर्मा लगायतलाई आर्थिक सहयोग गरेको हो। 

महिना दिनकै अवधिमा संकलन भएको रकममध्ये ८७ हजार रुपैयाँ रकम गम्भीर प्रकृतिका ६ बिरामी र एक जना बेसाहारा महिलालाई प्रदान गरिएको फेसबुक पेज ‘हाम्रो आवाज परिवर्तन समाज’की कृष्णकला राईले बताइन्। 

समाजले पाँचथरकी बोनम्यारो क्यान्सर पिडित एलिस्ना राईलाई २० हजार, ओखलढुंगा खिजिदेम्बा गाउँपालिका–४ की बोन क्यान्सर पिडित स्मृति सुनुवारलाई १० हजार, एउटा खुट्टा गुमाएका सोलुखुम्बु नेचा सल्यान गाउँपालिका–५ का आङपासाङ शेर्पालाई १० हजार, फेदाप गाउँपालिका तेह्रथुमका दाँत क्यान्सर पिडित मनराज लिम्बूलाई १० हजार, भक्तपुर सुर्यबिनायक नगरपालिकाका प्यारालाइसिस तथा क्यान्सर पिडित हरिगोपाल ब्याञ्जु र बिष्णुदेबी ब्याञ्जुलाई १२ हजार सहयोग प्रदान गरेको छ। यस्तै, आफन्त कोही नभएकी साहराबिहिन पोखराकी बुद्धमायाँ बिकलाई १० हजार सहयोग गरिएको समाजले जनाएको छ। 

‘हाम्रो आवाज परिवर्तन समाज’कै आङदमु शेर्पाले ओखलढुंगाकी बोन क्यान्सर पिडित स्मृति सुनुवारलाई ५ हजार, तेह्रथुमका दाँत क्यान्सर पिडित मनराज लिम्बूलाई ५ हजार र झापाकी आँखाकी बिरामी रेनुका राईलाई ५ हजार आर्थिक सहयोग गरेका छन्। समाजले सुर्यबिनायक नगरपालिका–९ भक्तपुरमा आयोजित कार्यक्रममा बिरामीका आफन्तलाई सहयोग रकम प्रदान गरेको हो।

प्रकाशित: १३ श्रावण २०७५ ०५:३९ आइतबार

फेसबुकमार्फत रकम जुटाएर बिरामीलाई