समाज

सिक्टाले बस्ती जोखिममा

बाँके (ढकेरी) - घरसँगै सटेको सिक्टा सिँचाइ आयोजनाको मूल नहर। नहरमा ठुल्ठुला भ्वाङ र चिरा परेका छन्। यसै कारण ढकेरीका कुलबहादुर पुनलाई अचेल रातभर निद्रा पर्दैन। ‘यो नहर एकदमै कमजोर हिसाबले बनेको छ’, उनले नागरिकसँग भने, ‘कमजोर नहरको छेउमा हामी बसेका छौं। नहरले बगाएर लैजाने डरले राम्ररी सुत्न पाइँदैन।’ उक्त नहरका कारण गाउँमा एकातिर डुबान समस्या खेप्नुपरेको छ भने अर्कोतिर नहरको संरचना कमजोर भएका कारण फुटेर बगाउने जोखिम पनि बढेको पुनले सुनाए।

सिक्टाका कारण निम्तिएको डुबान समस्या समाधानका लागि स्थानीय भक्ताखोलालाई डाइभर्सन गरिदिनुपर्ने माग उठाइरहेको अवस्थामा मूल नहर पटकपटक भत्किँदा अर्को चिन्ताले सताएको स्थानीय चन्द्रकला खत्रीले बताइन्। ‘माथितिरबाट बगेर आउने पानीलाई नहरले छेकिदिन्छ, यसले गर्दा हरेक बर्खायाममा घरहरु डुब्छन्,’ उनले भनिन्, ‘अहिले त झन् नहर नै फुट्न थाल्यो, कुन बेला कसलाई बगाएर लैजाने हो, ठेगान छैन।’

घुलनशील माटो र कमसल निर्माणका कारण ठाउँठाउँमा मूल नहर चर्किने र माटो बगेर भ्वाङ पर्ने समस्या आएकाले नहर जुनसुकै बेला नहर फुट्न सक्ने खतरा स्थानीयले औंल्याएका छन्।

राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको मूल नहर परीक्षण गर्दा गत सोमबार ढकेरीबाट करिब ५ सय मिटर पूर्वमा अवस्थित चंगाई खोला छेउमा भत्किएको थियो। त्यसअघि २०७३ असार १४ मा पनि गाउँभन्दा करिब ५ सय मिटर पश्चिम झिझरी खोला छेउमा भत्किएको थियो। सिक्टाको नहर पटकपटक ढकेरी आसपासको क्षेत्रमा भत्किएपछि स्थानीय बासिन्दा निकै त्रसित छन्। मानवबस्तीको बीच भागबाट छिरेको नहरको दुवै भित्ताको माटो बगेर ठुल्ठुला भ्वाङ परेको र नहरको स्लोप चर्केका कारण ढकेरी गाउँ अत्यन्त जोखिम अवस्थामा रहेको स्थानीय बासिन्दा बताउँछन्। सरकारले मूल नहरको समस्याग्रस्त स्थानमा पुनर्निर्माण गरेर मात्र पानी छाड्नुपर्ने उनीहरुको माग छ। सामान्य टालटुल गरेर पानी छाड्दा जति बेला पनि नहर फुट्न सक्ने आशंका उनीहरुको छ।

‘सिक्टाको नहर भत्केको दिनदेखि हामी ढुक्क भएर सुत्न सकेका छैनौं,’, स्थानीय गीता ओलीले भनिन्, ‘सरकारले छिटोभन्दा छिटो समस्या पहिचान गरेर पुनर्निर्माणको काम अगाडि बढाओस्।’ नहरको गलत डिजाइन र कमसल निर्माणको काममा संलग्न कर्मचारीलाई सरकारले कारबाहीको दायरामा ल्याउनुपर्ने स्थानीयको माग छ।

आयोजनाले आइसिपी–टुु ठेक्काअन्तर्गत नहरको १७.७ किमिदेखि ३५ किमिसम्मको सो खण्ड निर्माण गर्न ठेकेदार कालिका कन्सट्रक्सन कम्पनीलाई जिम्मा दिएको थियो। उक्त खण्डको नहर निर्माण गर्न घुलनशील माटो प्रयोग गरिएको र पेटी ठेकेदारलाई निर्माणको जिम्मा दिँदा गुणस्तर खस्किएको स्थानीय बताउँछन्। घुलनशील माटो र कमसल निर्माणका कारण ठाउँठाउँमा मूल नहर चर्किने र माटो बगेर भ्वाङ पर्ने समस्या आएको स्थानीय अगुवा श्रीधर उपाध्यायले बताए।

आयोजनाका निर्देशक रमेश बस्नेतले घुलनशील माटोका कारण पटकपटक नहर भत्किने समस्या आएको बताए। उनले भने, ‘समस्या आएको ठाउँमा नहरको किनारमा करिब २ मिटरजति यस्तो माटो हटाएर राम्रो माटो माटो राख्नुपर्छ, तबमात्र यो समस्या समाधान हुन सक्छ।’

२०६३ सालबाट निर्माण सुरु भएको आयोजनाको ४२.२५ किलोमिटर लामो पश्चिम (दायाँ) मूल नहरमार्फत ३३ हजार ७ सय ६६ हेक्टर तथा साढे ५३ किमि पूर्वी (बायाँ) मूल नहरमार्फत राप्तीपारिको कुल ९ हजार हेक्टर क्षेत्र सिँचाइ गर्ने सरकारको लक्ष्य रहेको छ। आयोजनाको करिब ६० प्रतिशत काम सम्पन्न हुँदा आर्थिक वर्ष २०७४/७५ सम्म १४ अर्ब ७० करोड रुपैयाँ खर्च भइसकेको छ। आयोजनाको दोस्रो गुरुयोजनाअनुसार आर्थिक वर्ष २०७६/७७ भित्र सम्पूर्ण काम सम्पन्न गरिसक्नुपर्छ। आयोजना सम्पन्न हुँदासम्म सिक्टाको कुल लागत २५ अर्ब नाघ्ने अनुमान छ।

प्रकाशित: १२ श्रावण २०७५ ०१:२० शनिबार

सिक्टाले बस्ती जोखिममा