रोल्पा – स्थानीय उत्पादनलाई प्राथमिकता दिने भन्दैे रोल्पा नगरपालिकाले जनप्रतिनिधिहरूका लागि अल्लोद्वारा निर्मित कोटको व्यवस्था गरेको छ। नगरपालिका भित्रका सबै जनप्रतिनिधिलाई अनिवार्य अल्लोको कोट लगाउनुपर्ने नीति नै बनाएको हो। दश वडा रहेको रोल्पा नगरपालिकामा नगर कार्यपालिका सदस्यसमेत गरी ५४ जनप्रतिनिधि छन्।
‘यो हाम्रो नगरपालिका भित्रका जनप्रतिनिधिहरूको पोसाक हो। औपचारीक कार्यक्रममा अल्लोको कोट नै लगाउने निर्णय गरेका छौ। महिला पुरुष सबै जनप्रतिनिधिले अल्लोको कोट लगाउनुपर्ने नियम बनाएका हौं।’ नगरप्रमुख पूर्ण केसीले भने ‘यसले अल्लोको प्रचार प्रसारका साथै स्थानीय उत्पादित बस्तुको प्राथमिकताले उद्यमीहरूलाई हौसला समेत बढाउनेछ।’
रोल्पा नगरपालिकाले जनप्रतिनिधिका लागि प्रतिव्यक्ति ८ हजारका दरले पोसाक भत्ता उपलब्ध गराएको छ। जसबाट अल्लोबाट निर्मित कोटका साथै अन्य पोसाक खरिद गर्नुपर्नेछ। नगरपालिकाले ८ हजारमा बाँकी सम्बन्धीत ब्यक्तिको लगानी हुने गरी कोटसहित रोल्पामै बुनिएको कपडाको सर्ट–पाइन्ट, जुत्ता र टोपी पनि पोसाकमा संलग्न गरिने बताएको छ। म्हिलाहरूले पनि ढाँकाको ब्लाउज र साडी पनि रोल्पामै बुनिएको कपडाको प्रयोग गर्नेछन।
अल्लोको कच्चा पदार्थबाट कपडा निर्माणका लागि जिल्लामा करिब आधादर्जन घरेलु उद्योग सञ्चालित छन्। तिनलाई सीप तथा औजार उपलब्ध गराउनमा राज्यले समेत लगानी गरिरहेको घरेलु तथा साना उद्योग रोल्पाका प्रमुख बालकृष्ण आचार्य बताउँछन्।
‘घरेलुले यस्ता उद्यमीहरूलाई सीप सिकाउनुका साथै विभिन्न ठाउँमा अवलोकन भ्रमण समेत गराउँदै आएको छ।’ आचार्यले भने ‘सीप सिकेकाहरूलाई व्यवसायिक रुपमै लागुन् भनेर विभिन्न मेसिन समेत उपलब्ध गराउँदै आएका छौं।’
जनप्रतिनिधिले स्थानीय घरेलु मेसिनबाट बुनिएको अल्लो र ढाँकाको पोसाक अनिबार्य गराएपछि अर्डर गरिएका सिलाइकटाई सेन्टरमा समेत भ्याइनभ्याई छ। भनेकै समयमा स्तरीय पोसाक उपलब्ध गराउन नसकिने हो कि भनेर निकै मेहनत गरिएको राजेन्द्र टेलर्सका राजेन्द्र नेपालीले बताए। सिलाईका लागि दक्ष कालीगढ समेत राखेर काम गरिरहेको रोल्पाली मन टेलर्सका मनबहादुर नेपाली बताउँछन्। नगरपालिकाले स्थानीय उत्पादनलाई अनिवार्य बनाएपछि आफूहरूलाई सीप देखाउने र रोजगार प्राप्त गर्ने ठाउँ मिलेको मनबहादुरले भने।
रोल्पालाई अल्लोको उर्वर भूमिका रुपमा चिनिन्छ। जिल्लामा आउने आगन्तुक जो कोहीलाई पनि अल्लोको टोपी र कोट लगाइदिने चलन छ। स्थानीय रुपमा उत्पादित वस्तुको प्रवद्र्धन तथा प्रचारप्रसारका लागि अन्य स्थानीय तहहरुले समेत कार्ययोजना बनाइरहेका छन्। जिल्लाको उत्तरी र पूर्वी भागमा अल्लोको धेरै उत्पादन गरिन्छ। गामलगायत विभिन्न गाउँमा अल्लोको कपडा निर्माणका लागि साना उद्योग समेत सञ्चालित छन्।
प्रकाशित: ११ श्रावण २०७५ ०४:५८ शुक्रबार