समाज

कष्टकर बन्दै राउटेको जीवन

राउटे समुदायले बनाएका अस्थायी टहरा । तस्बिर : नगेन्द्र/नागरिक

सुर्खेत - ‘जंगलमा कन्दमूल पाइन छाड्यो, गुना (लंगुर बाँदर) पनि पाइँदैनन्, मूल सुक्दै जान थाले, लामखुेट्टले पनि साह्रै दुःख दिन्छन् ।’ राउटे मुखिया सूर्यनारायण शाहीको यो भनाइले जंगलमै रमाएर बस्ने राउटे समुदायको जीवन कष्टकर बन्दै गएको संकेत गर्छ । राउटेका व्यवहार केही फेरिए पनि दुःख भने उस्तै छन् । ‘हामी पहिलेका जस्ता रहेनौं, जंगल छोडेर अन्य समुदायको नजिक आएपछि झन् ठूलो समस्यामा परेका छौं’, सूर्यनारायण भन्छन्।

राउटे समुदाय जंगलमै रमाउने भएकाले आधुनिक सहरी उद्योगधन्दा र कलकारखानासँग यसको कुनै साइनो छैन । विशुद्ध प्राकृतिक जीवन बिताउने घुमन्ते यो समुदाय अहिले जलवायु परिवर्तनको मारमा परेको छ । जलवायु परिवर्तनबारे शब्द ज्ञान नभए पनि राउटे समुदाय यसका असरसँग भने राम्ररी जानकार छ ।राउटेका स्पष्ट तीन मान्यता छन्– खेतीपाती नगर्ने, लेखपढमा नलाग्ने र जागिर नखाने । पर्यावरणीय प्रभावले आहारमा कमी हुनु, बाह्य समाजसँग घुलमिल बढ्नु र जीवनयापनका लागि परनिर्भरता बढ्नुले आदिम मानव सभ्यताको एक अवशेष राउटे समुदाय अहिले संकटमा छ । उनीहरू बाध्यताले आफ्नो प्राचीन मान्यता र परम्पराबाट पछि हटिरहेका छन् । आफूलाई जंगलको ‘राजा’ ठान्ने यो समुदायलाई जलवायु परिवर्तनसँगै बदलिएको समयले ‘रैती’ बन्ने मार्गमा डोर्याउँदैछ ।

मुखिया सूर्यनारायण अहिले आफूहरूलाई जंगलमा बस्न गाह्रो भइरहेको बताउँछन् । ‘जंगलमै लामखुट्टे भेटिन थाले, पानीका मूल सुक्न थाले, कन्दमूल र बाँदर पनि पाइँदैनन्’, उनले भने, ‘यिनै समस्याले चाँडोचाँडो बस्ती सर्न थालेका छौं । दुःख बिमार पनि धेरै लाग्न थालेको छ ।’ आफ्ना सदस्यको मृत्यु हुँदामात्रै बस्ती सर्ने राउटे समुदाय अहिले एक ठाउँमा मुस्किलले बढीमा एक महिनासम्म बस्छ । राउटे मूलको मात्र पानी खान्छन्, खोलानालाको पानी खाँदैनन् । तापक्रम वृद्धि र वनजंगल विनाशले पानीका मुहान सुक्दै जानु तथा कन्दमूल र बाँदर लोप हुँदै जानुले उनीहरू संकटमा मात्र परेका छैनन् परनिर्भर पनि बन्दै गएका छन् । कन्दमूल र बाँदरको सट्टा अहिले उनीहरू बजारको खाद्यान्न र खसीबाख्रामा भर पर्न थालेका छन्।

राउटे समुदायका सदस्य पहिलेको तुलनामा बिरामी भएर थलिन पनि थालेका छन् । ‘पहिले जंगलमै औषधिमूलो गथ्र्यौं, सन्चो हुन्थ्यो’, मुखिया सूर्यनारायणले भने, ‘अहिले धेरै बिरामी हुन्छौं, जंगली औषधिले पनि काम गर्न छोड्यो ।’ बदलिँदो खानपिन, लामखुट्टेको टोकाइलगायत कारणले उनीहरू समस्यामा छन् । पहाडी जंगलमा समेत लामखुट्टे लाग्ने गरेको उनीहरू बताउँछन् । ‘पहिला सिकार खेल्दटक लाग्थ्यो, आइमाई र केटाकेटीको टाउको, पेट दुख्थ्यो, जडीबुटीले निको भइहाल्थ्यो’, सूर्यनारायणले भने, ‘बल्लेटी र तेजपातको रसले टाउको दुखेको सन्चो गराउँथ्यौं, आजभोलि त्यसो हुँदैन, झन्झन् रोगले च्याप्न थालेको छ ।’

राउटे समुदाय जंगलमै रमाउने भएकाले आधुनिक सहरी उद्योगधन्दा र कलकारखानासँग यसको कुनै साइनो छैन । विशुद्ध प्राकृतिक जीवन बिताउने घुमन्ते यो समुदाय अहिले जलवायु परिवर्तनको मारमा परेको छ । जलवायु परिवर्तनबारे शब्द ज्ञान नभए पनि राउटे समुदाय यसका असरसँग भने राम्ररी जानकार छ ।

डाक्टरी उपचारप्रति उनीहरूलाई त्यति विश्वास छैन । ‘अस्पताल त हाम्रा लागि होइनन्, अरूका लागि बनाइएका अस्पतालमा हामी जानु हुँदैन’, महामुखिया ऐनबहादुर शाहीले भने, ‘हामीलाई जडीबुटीले निको हुन्थ्यो, अब त औषधि गर्ने जडीबुटी पनि जंगलमा पाइन छाड्यो।’राउटे उत्थान प्रतिष्ठानकी अध्यक्ष सत्यदेवी अधिकारी बदलिँदो जीवनशैली र जलवायु परिवर्तनका कारण राउटेमा विभिन्न रोगको संक्रमण देखिन थालेको बताउँछिन् । ‘मुख्यतया उनीहरूको खानपिनमा आएको फेरबदल यसको कारण हो’, उनले भनिन्, ‘प्राकृतिक खानाको साटो सहरबजारतिरको खाना खान थालेदेखि उनीहरू धेरै बिरामी पर्न थालेका छन् ।’

कन्दमूल र बाँदर पाइन छाडेपछि घना जंगल छाडेर राउटेहरू गाउँबस्तीको नजिक बस्न थाले । यसले हावापानी मिलेन । राउटेहरू बाह्रै महिना एकसरो कपडा मात्रै लगाउँछन् । ‘राउटे समुदायलाई जलवायु परिवर्तन भनेको के हो भन्ने जानकारी नभए पनि यसको प्रत्यक्ष असर उनीहरूले भोगिरहेका छन्’, अधिकारीले भनिन्, ‘दैनिक जीवनशैलीदेखि खानपिनमा आएको परिवर्तनले यसलाई प्रस्टाउँछ।’

नकारात्मक प्रभाव

पहिले–पहिले राउटेहरू कन्दमूल खान्थे, बाँदरको सिकार उसिन्थे, भातमा पानी बढी हालेर नुन छर्केर खान्थे । तरकारीका रुपमा कुभिन्डो, खोलेसागलाई प्राथमिकता दिन्थे ।

पैसा छोएमा पाप लाग्छ भन्ने यो समुदाय गाउँमा आएर आफूले तयार गरेका काठका भाँडाकुँडासँग धान र अन्य खाद्यान्न साटेर लैजान्थे । राउटे बस्तीमा महिलाले काठको ओखलमा धान कुट्थे । तर अहिलेको पुस्ताले परम्परागत काठका भाँडा बनाउन जान्दैन । पैसा छोए पाप लाग्छ भन्ने समुदाय अहिले पैसाका लागि मरिहत्ते गर्छ । अहिले सरकारले दिने मासिक भत्ता, काठका सामग्री बिक्रीबाट भएको आम्दानी र मागेको पैसाले उनीहरू मदिरा र सूर्तिजन्य पदार्थहरू सेवन गर्छन् । यसै कारण उनीहरूमा अहिले रोग प्रतिरोधात्मक क्षमता कम हुँदै गएको बताइन्छ।

‘पहिले–पहिले जंगलमा पाइने कन्दमूल, बाँदरलगायत सिकार गरेर खान्थे, यसले गर्दा उनीहरूको स्वास्थ्य पनि राम्रो हुन्थ्यो’, पाँच वर्षदेखि राउटेको स्वास्थ्य जाँच गर्दै आएका स्वास्थ्यकर्मी उदयबहादुर थापाले भने, ‘अहिले अत्यधिक मदिरा र सूर्तिजन्य पदार्थ सेवनले उनीहरूको रोग प्रतिरोधात्मक क्षमता घट्दै गइरहेको छ ।’ हुन पनि राउटे बस्तीमा बालकदेखि वृद्धसम्मले मदिरा र सूर्तिजन्य पदार्थ सेवन गरेको देख्न पाइन्छ । सशस्त्र द्वन्द्वपछि मानव बस्ती नजिकैका जंगलमा राउटे बस्न थालेदेखि उनीहरू नराम्रो कुराहरू मात्रै नक्कल गर्न थालेको थापा बताउँछन् । ‘पहिले अन्य समुदाय नजिक आउनै मान्दैनथे, सशस्त्र द्वन्द्व र जंगलमा पाइने प्राकृतिक चिज मासिँदै गएकाले उनीहरू मानव बस्ती नजिकैका जंगलमा बस्न थाले’, थापाले भने, ‘त्यसयता उनीहरूले अन्य समुदायका नराम्रा कुराहरूको अनुशरण मात्रै गरे, पुर्खादेखिको सीप र आहार–व्यवहार भुल्दै गए ।’

तथ्यांकमा राउटे समुदाय
फिरन्ते जीवत बिताइरहेको राउटे समुदायको संख्या अहिले १४९ मात्रै छ । राउटे समुदायसँग विगत ११ वर्षदेखि काम गर्दै आएका पत्रकार भक्तबहादुर शाहीका अनुसार उमेरगत समूहलाई हेर्ने हो भने सबैभन्दा बढी सात वर्षसम्मका ४७ जना, १६ देखि ४० वर्षसम्मका ४४ जना, ८ देखि १५ वर्षसम्मका २४ जना छन्, ४१ देखि ६० वर्षसम्मका २० जना र ६१ वर्षमाथिका १४ जना छन् । राउटे समुदायमा निकै हेला गरिने एकल महिलाको संख्या ११ छ ।

राउटेका तीनटा गोत्र छन् । कल्याल, रास्कोटी र स्ववंशी गरेर तीन वटा गोत्र राउटे समुदायमा छ । तीनवटै गोत्रभित्रबाट राउटे समुदायको बिहेवारी चल्छ । भक्तबहादुरका अनुसार राउटे समुदायमा कल्याल गोत्रका धेरै रहेकाले कल्यालका युवककले विवाह नगरी बस्नुपर्ने बाध्यता छ । आफ्नै गोत्रमा विवाह नगर्ने तर विवाह गर्न मिल्ने रास्कोटी र स्ववंशीको संख्या निकै कम भएको र त्यसमा पनि महिलाको संख्या न्यून रहेकाले विवाह गर्न समस्या भएको हो । ‘अन्य जातिकासँग विवाह गर्नु हुँदैन्, हाम्रै सामुदायभित्रका फरक गोत्रसँग विवाह गर्ने चलन छ’, रास्कोटी समुदायका मुखिया सूर्यनारायणले भने, ‘हामीतिर धेरै केटा छन्, कल्याल र स्ववंशीतिर केटी नभएकाले विवाह हुन सकेको छैन् ।’ यसले गर्दा ४० वर्षका कल्याल पुरुषले १३ वर्षकी बालिकासँग विवाह गरेको उदाहरण छ ।

स्थायी परिचयपत्र
दैलेखको गुराँस गाउँपालिकाले राउटे समुदायलाई स्थायी परिचयपत्र दिएको छ । स्थायी परिचयपत्रमा नाम, थर, जन्म मिति, ठेगाना, बुवा,आमाको नाम र पतिपत्नीको नाम उल्लेख छ । यसै कारण गुराँस गाउँपालिकाले राउटेलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्छ । सरकारले राउटेका लागि उमेर हद नतोकी बच्चादेखि वृद्धवृद्धासम्म सबैलाई मासिक दुई हजार रुपैयाँका दरले भत्ता दिँदै आएको छ ।

‘उनीहरूको स्वास्थ्य, शिक्षा र भत्तामा एकरुपकता ल्याउनका लागि स्थायी परिचयपत्र वितरण गर्न लागेका हौं’, गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले भने, ‘तत्कालका लागि गाउँपालिकाबाटै दुईजना कर्मचारी नियुक्त गरिसकेका छौं ।’ अध्यक्ष ओलीका अनुसार ती कर्मचारीले रातिमा प्रोजेक्टमार्फत राउटे समुदायका बालबालिकालाई पढ्न सिकाउने, सन्देशमूलक भिडियो देखाउनेलगायतका काम गर्छन्।

सार :

राउटे नेपालको प्राचीन फिरन्ते तथा विश्वकै लोपोन्मुख र पिछडिएको आदिवासी जनजाति हो । राउटे प्रदेश–५ को राप्ती नदीदेखि प्रदेश–७ को महाकाली नदीसम्मका जिल्ला दाङ, दैलेख, जाजरकोट, सुर्खेत, सल्यान, कालिकोट, अछाम, जुम्ला, दार्चुला, बैतडीका पहाडी जंगलमा बस्छन् । उनीहरू समूहमा बस्छन् ।कन्दमूल र सिकारबाट आफ्नो जीविकोपार्जन गर्ने उनीहरू काठका कलात्मक भाँडाकुँडा बनाएर अन्नसँग साट्छन् । खेती नगर्ने, पैसा छोए पाप लाग्छ भन्ने, सिलाएको कपडा नलगाउने र स्थायी बसोबास नभएका यिनीहरूलाई वनराजा पनि भनिन्छ ।

यस्तै एकै ठाउँमा दुई महिनाभन्दा बढी नबस्ने, धन सञ्चय गर्ने प्रवृत्ति नभएका यिनीहरू बाँदरलगायत जीवजन्तु र पन्छीको सिकार गरी खान्छन् । राउटेले नागपूजा, मस्टो भैरव पूजा र प्रकृति पूजा गर्छन् । बगेको पानी नपिउने, मुहानको पानी पिउने प्रचलन रहेका उनीहरू ‘दारेमष्टो’ लाई कूलदेवता मान्छन्।

आफ्नो भान्छाभन्दा बाहिर पाकेको खाना नखाने कठोर संस्कृति बोकेको राउटे समुदायको जीवनशैलीमा पछिल्लो समय व्यापक फेरबदल आएको छ । उनीहरू आधुनिक मानव बन्न त चाहँदैनन् तर चाहेर वा नचाहेर आधुनिक जीवनशैली अनुशरण गरिरहेका छन् । पछिल्लो समय राउटे समुदायलाई परनिर्भरताले नराम्ररी गाँजेको छ । एक दशकअघिसम्म उनीहरू बाह्य व्यक्तिले दिएको कुनै बस्तु लिँदैनथे । अहिले सहर–बजारमा भेटिने नयाँ मान्छेसँग हाकाहाकी पैसा माग्छन् ।

‘अन्य समुदायको नजिक आएर बस्न थालेपछि राउटे समुदायमा सकारात्मक भन्दा नकारात्मक प्रभाव बढी देखिन थाल्यो’ पत्रकार भक्तबहादुरले भने, ‘पहिले पैसा छोए पाप लाग्छ भन्नेहरू अहिले हाकाहाकी पैसा माग्छन् ।’ कोहीसँग कुरा गर्यो वा कसैले फोटो खिच्यो भने यसको बदलामा उनीहरू ‘पैसा देऊ न’ भन्छन् । ‘पहिलाजस्तो गाउँमा हामीले बनाएका भाँडा कसैले किन्दैनन्, बनाएर मात्रै के गर्ने !’ अर्का मुखिया वीरबहादुर शाहीले भने, ‘त्यही भएर पैसा कमाएर अनाज किन्यो, खायो, यही सजिलो लाग्छ अहिले।’
 

 

प्रकाशित: ११ श्रावण २०७५ ०१:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App