समाज

ट्रकको ठक्करबाट यूएईमा एक नेपाली घाइते

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका योगेश राई। तस्बिर सौजन्यः उमेश राईको फेसबुक

खोटाङ – ट्रकको ठक्करबाट यूएईमा एक नेपाली गम्भीर घाइते भएका छन्। रोजगारीका सिलसिलामा केही महिनाअघि मात्र यूएई पुगेका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मी कुम्देलका योगेश राई ट्रकको ठक्करबाट गम्भीर घाइते भएका हुन्।

ड्यूटीबाट फर्किएपछि घरमा रेमीट्यान्स पठाउनका लागि साइकल चढेर कोठा बाहिर सडकमा हिँडिरहेको अवस्थामा राईलाई पछाडिबाट ट्रकले ठक्कर दिएको थियो।

ट्रकको ठक्करबाट पिठ्यूँको हड्डी भाँचिएका राई १२ घण्टा बेहोस भएको आफन्तले बताएका छन्। घाइते राईको उपचार भइरहेको छ। शल्यक्रीयापछि उनको अवस्था सामान्य हुने बताइएको आफन्त उमेश राईले बताए।

भयानक दुर्घटनामा ट्रकको टायरले साइकल कच्याक कुचुक पारेपनि शरीरलाई नभेट्दा उनको ज्यान बचेको हो। ट्रक चालकलाई प्रहरीले पक्राउ गरेर जेलमा राखेको बताइएको छ।

प्रकाशित: ९ श्रावण २०७५ ०९:२५ बुधबार

ट्रकको ठक्करबाट यूएईमा नेपाली घाइते