समाज

दाताको रकम खर्च हुन सकेन, तीन सडक र एक पुल अलपत्र

ठेकेदारले समयमा स्तारोन्नति नगरी अलपत्र रहेको भ्याङ्खोला–तम्बे सडक। तस्बिर : मेघराज तामाङ

संखुवासभा–निर्धारित समयमा काम नसक्दा दाताको अनुदानबाट प्राप्त १५ करोड १३ लाख ४६ हजार रुपैयाँ उपयोग विहीन भएको छ।  जिल्लाका विभिन्न सडकको स्तरोन्नति र पुल निर्माणमा उन्नति परियोजनामार्फत प्राप्त अनुदान खर्च हुन नसकेको हो।

चैनपुर—नुनढाकी सडकको स्तरोन्नति गर्र्न छुट्याइएको बजेटमा ४ करोड ९२ लाख ६४ हजार रुपैयाँ खर्च हुन सकेन। थोदुङ कुन्सालिङ निर्माण कम्पनीले २०७४ साउन मसान्तसम्म काम सम्पन्न गर्ने जिम्मेवारी लिएको थियो। तर विभिन्न कारण देखाउँदै समय मागगरेपछि गत असार १५ सम्म समय थपियो। तर २० किलोमिटर सडकको ग्राभेलसहित स्तरोन्नति गर्नुपर्नेमा अहिले साढे ९ किलोमिटर ग्राभेल र ३ किलोमिटर सोलिङको काम मात्र सकिएको  छ। सो सडकका लागि ११ करोड ७२ लाख ९७ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो।

त्यसैगरी मंगलादेविथानदेखि माल्टा सम्मको ८ किलोमिटर सडकको स्तरारोन्नति गर्ने जिम्मेवारी पाएको सिवाको स्वामिनारायण कम्पनीले पनि निर्धारित समयमा ७५ प्रतिशत मात्र काम सकेको छ। ६ करोड ८८ लाख रुपैयाँको बजेटमा २ करोड २२ लाख ३१ हजार रुपैयाँ खर्च हुन सकेन। सिवाकोले २ सय मिटर सडक मात्र ग्राभेल गरेको छ। सडकमा स्तरीय ग्राभेलका लागि एडमिक्चर केमिकल प्रयोग गरिएको थियो। सिवाले अन्य काम सकेपनि केमिकल अभावमा ग्राभेलको काम गर्न नसकेको उन्नतिका इन्जिनियर शशीकुमार यादवको दाबी छ।

उन्नति परियोजनाद्वारा पिलुवा खोलामा निर्माणाधीन पुलको पनि ५५ लाख रुपैयाँ पनि खर्च हुन सकेको छैन। चैनपुर र नुनढाकीलाई जोड्नका लागि सो पुलको निर्माण कार्य सुरु गरिएको थियो।

यता भ्याङ्खोला–तम्बे सडक खण्डको निर्माण ४२ प्रतिशत मात्र सम्पन्न भएको छ। १२ करोड ६७ लाख २७ हजारको लगानीमा स्तरोन्नतिसहित १५ किलोमिटर ग्राभेल गर्नु पर्ने हो । यस सडक स्तरोन्नतिको ७ करोड ९२ लाख ९३ हजार ४ सय ५९ रुपैयाँ खर्च हुन सकेन । निर्माण कम्पनी कोशी एण्ड न्यौपाने खाम्पाचे जोईन्ट भेन्चरले अन्तिम समय गत असार १५ सम्ममा ४२ प्रतिशत मात्रै काम सकियो। उन्नतिले चिया, अदुवा, डेरी र अलैंची प्रशोधनका लागि कृषकलाई पूर्वाधार निर्माण, उपकरण खरिदका लागि करिव डेढ करोड रुपैयाँ अुनदान दिएको छ। स्थानीय स्तरका कृषि उत्पादनलाई टेवा पु¥याउन ३ वटा सडक र एउटा पुल निर्माणका लागि उन्नति परियोजनाले अनुदान सहयोग दिएको थियो। किसानले उत्पादन गरेका अलैंची, दुध, अदुवा र चियालगायतका कृषिजन्य उत्पादनलाई बजारसम्मको पहुँचमा पुर्‍याउने लक्ष्यका साथ सडकको स्तरोन्नति र पुल निर्माण थालिएको थियो।

 

 

 

प्रकाशित: ९ श्रावण २०७५ ०८:५५ बुधबार

दाताको रकम खर्च हुन सकेन सडक पुल अलपत्र