समाज

जुम्ला कारागारमा खानेपानीको अभाव

जुम्ला – जिल्ला कारागार जुम्लामा खानेपानीको अभाव देखिएको छ। पर्याप्त मात्रामा खानेपानीको आपूर्ति नहुँदा कारागारका बन्दीलाई पिउने, नुहाउने र कपडा धुने पानीको संकट भएको हो। दैनिक बिहान–बेलुका गरी २ घण्टा मात्र पानी आउने धारामा कैदीलाई लाइन लाग्नुपर्ने बाध्यता छ।

२ सय कैदी बन्दीको क्षमता रहेको जुम्ला कारागारमा ४९ जना मध्ये ४ जना थुनुवा र ४५ जना कैदी बस्दै आएका छन्। ती सबै कैदीबन्दीको लागि एउटा मात्र धारा छ, त्यो पनि नियमित आउँदैन, नियमित पानी नआउदा सरसफाइका क्रियाकलापमा कमी आउने गरेको जेलर टंकराज न्यौपानेले जानकारी दिए।

खलङ्गा खानेपानी उपभोक्ता समितिबाट जडान गरिएका २ वटा धारा मध्ये एउटै धारा मात्र संचालनमा छ। जेलर न्यौपानेले भने,‘संचालनमा रहेको धारामा नियमित पानी नआएकै कारण समस्या बढ्दो छ।

साँझ र बिहान गरी २ घण्टा मात्रै धारामा पानी आउँछ। यहाँ दैनिक १० हजार लिटर पानीको जरुरत छ।  २ घण्टा आउने पानीले समस्या समाधान नहुने भन्दै जेलर न्यौपानेले नियमित पानी आए मात्रै यो समस्या हट्ने बताए। उनका अनुसार अपुग पानी जेनेरेटर मार्फत तिला नदी बाट तान्छौ।  दुषित भएकोले पिउन मिल्दैन। अहिले कारागारमा पानीको संकट परेको छ।

जेनतेन अहिले थुनवा र कैदीलाई आवश्यक पर्ने पानीको बन्दोबस्त गरिएको कारागार जुम्लाले जनाएको छ। दैनिक १० हजार लिटर पानीको आवश्यकता पर्छ, उनले भने, तर अहिले कारागारमा एकदम न्यून पानी आपूर्ति भइरहेको छ। कारागारमा अपुग भएको पानी पूर्तिका लागि खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालय जुम्लाबाट अहिले काम भइरहेको छ।

१० हजार लिटर पानी अट्ने क्षमताको इन्टेक निर्माण र पाइप लाइन खनेर पुरिसकेको जेलर न्यौपाने बताउँछन। न्यौपानेले खानेपानीको समस्या रहेको बताउँदै पर्याप्त मात्रमा खानेपानी आपूर्तिको लागि पहल भैरहेको बताए।

उनका अनुसार खानेपानीसँगै कारागारमा बिजुलीको पनि समस्या रहेको छ। बिजुलीको लाईन तान्ने काम भएपनि बिजुली बाल्न सकिएको छैन। स्रोतसाधनको कमीका कारणले बिजुलीको समस्या रहेको छ।

२४ सै घण्टा बिजुली आवश्यक पर्ने कारागारमा अहिले सोलारबाट बिजुली बाल्ने काम भएको छ। कारागारमा खानेपानी र बिजुलीको समस्या भएकाले समाधानका लागि सम्बन्धित निकायलाई ध्यान दिन आग्रह गरिएको छ। पानी नहुँदा दुषित पानी पिउन र बिजुली नहुँदा अन्धकारमा बस्न कैदी बन्दी बाध्य छन्।

प्रकाशित: ९ श्रावण २०७५ ०७:२७ बुधबार

जुम्ला कारागारमा खानेपानीको अभाव