समाज

सर्लाहीमा करेन्ट लागेर २ को मृत्यु, एक गम्भीर


सर्लाही– सर्लाहीमा विद्युतीय करेन्ट लागेर २ जनाको मृत्यु भएको छ भने एक युवती गम्भीर घाइते भएकी छिन्। 

जिल्लाको दक्षिण–पूर्वी क्षेत्र हरिपूर्वा नगरपालिका–९, बसन्तपुरको बगेबा गाउँ निवासी ३६ वर्षीय नरेन्द्र चौधरी र १४ वर्षीया सुनिता खत्वे मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ। स्थानीय २० वर्षीया फूलोदेवी महतो गम्भीर घाइते भएकी छिन्। उनको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय केशरगंजका प्रहरी निरीक्षक गौरव महतले जानकारी दिए।

सोमबार दिउँसो साँढे ३ बजे घरमा रहेको स्वीच अन गर्ने क्रममै उनीहरुलाई करेन्ट लागेको स्थानीयले बताएका छन्। ११ हजार भोल्टेजको हाइटेन्सन लाइनको तार खसेर घरमा वितरण गर्ने २४० भोल्टेजको तारमा छोएका कारण हाई भोल्टेज आउँदा स्वीच अन गर्ने क्रममै उनीहरुलाई करेन्ट लागेको बताइएको छ।

प्रहरीले भने विस्तृतमा अनुसन्धान भइरहेकाले घटना के कसरी भयो भन्ने अहिले नै एकिन गर्न नसकिने जनाएको छ। विद्युत प्राधिकरणका कर्मचारी एवं स्थानीयसँग बुभ्mने काम जारी रहेको प्रहरी निरीक्षक महतले जानकारी दिए। स्थानीय बासिन्दाका अनुसार उक्त क्षेत्रमा बिहानैदेखि विद्युत प्राधिकरणको मर्मत सम्भार चलिरहेको थियो।

प्रकाशित: ७ श्रावण २०७५ ११:३१ सोमबार

सर्लाहीमा करेन्ट लागेर को मृत्यु गम्भीर