समाज

भीमेश्वरको भण्डार घरमा ‘मिनी संग्रहालय’ राखिने

भीमेश्वर मन्दिरको निर्माण हुँदै गरेको भण्डार घरमा शनिबार राखिएको मुल ढोका । तस्विर : नागरिक

दोलखा– २०७२ को भूकम्पमा  भत्किएपछि पुर्ननिर्माण हुँदै गरेको प्राचिन सहर दोलखास्थित प्रसिद्ध भीमेश्वर मन्दिरको भण्डार घरमा ‘मिनी संग्रहालय’ समेत स्थापना गरिने भएको छ। 

पुरातत्व बिभागले ठेकेदार कम्पनी मार्फत २ करोडको लागतमा बनाउदै गरेको मन्दिरको भण्डार घरको पहिलो तलामा ‘मिनी संग्रहालय’ स्थापना गर्न लागिएको भीमेश्वर मन्दिर पूजा तथा गुठी ब्यबस्थापन समितिले जनाएको छ। 

समितिका अध्यक्ष भरतबहादुर श्रेष्ठका अनुसार निर्माण हुँदै गरेको भण्डार घरको पहिलो तलामा मन्दिरका परम्परागत र बर्षौ पुराना बस्तु साथै पुरातात्विक महत्व झल्कने खालका सामाग्रीहरु सहितको संग्रहालय बनाइनेछ। ‘पुराना सामानहरु राख्ने तयारी गरिरहेका छौं’, श्रेष्ठले भने – ‘त्यसका निम्ती बिभाग र सम्बन्धित निकायसंग छलफल गर्नै बाँकी छ।’ श्रेष्ठका अनुसार २.५ तलाको भण्डार घरको दोश्रो तलामा भण्डार कोठा र मन्दिरको पूजा सामान थन्काउने कोठा बनाइनेछ। यस्तै तेस्रो तलामा गुठी तथा पूजा समितिको कार्यालय रहनेछ। 

हाल पुर्ननिर्माण हुँदै गरेको मन्दिरको भुई तला बनाउने काम चलिरहेको छ। भुई तलामा शनिबार मुल ढोका राखेर पूजा गरिएको श्रेष्ठले बताए। भण्डार घरको मुल ढोकालाई पुरातत्व बिभागले मल्लकालिन सजावट सहितको आकृती झल्कने किसिमको बनाएको छ । मुल ढोकाका लागी मात्र ४.५ लाख रुपैंया खर्च गरिएको छ। अग्राखको ढोका भक्तपुरमा बनेको हो। 

पुरातत्वका प्राविधिक कर्मचारीहरुका अनुसार भण्डार घरका प्राय ढोका र झ्यालहरु मल्लकालिन शैलीकै बुट्टा भएको हुनेछन्। प्राय आँखे झ्याल र तिनमुखे झ्यालहरु हुने बिभागले जनाएको छ। काटिएको ढुङ्गा जडित पुरानो शैलीको गाह्रो हुनेछ। यस्तै भण्डार घरमा तामाको छानो हुनेछ। पुरातत्वले घरको बनावटमा पुरानै शैली अपनाउने गरी डिजाईन बनाएको छ।  

भूकम्पमा भण्डार घर भत्कीएपछि हाल घरेलु तथा साना उद्योग विकास समितिको भवनमा सारिएको थियो। भवन भत्कीए लगतै पुरातत्वले नेपाली सेना, नेपाल प्रहरी, मालपोत, जिल्ला प्रशासन र भीमेश्वर नगरपालिका कार्यालयको रोहबरमा भण्डार घरका सामानहरु घरेलुको भवनमा सारेको थियो। हाल घरेलु अफिसमा रहेको भण्डार घरमा प्रहरीले सुरक्षा दिदै आएको छ। करिब ३ सय बर्ष अगाडि निर्माण भएको अनुमान गरिएको भण्डार घरको मुल भण्डार कोठामा तिन ओटा साँचो लगाईदै आएको छ। उक्त तिन साँचो मध्ये एउटा गुठियार, एउटा नेपाली सेना र एउटा मालपोत कार्यालयसंग रहन्छ। राणा शासन अघि भण्डार घरको साँचो मिलिसिया र गुठियारले राख्ने गर्थे। 

भण्डार घरमा मन्दिर स्थापना भए यताका बहुमुल्य सामान रहेको अनुमान छ। पुरातत्वले त्यसको खोजविन गरेको छैन्। 

प्रकाशित: ६ श्रावण २०७५ १५:५८ आइतबार

भीमेश्वरको भण्डार घरमा मिनी संग्रहालय राखिने