सिन्धुपाल्चोक- विनासकारी भूकम्पबाट क्षतिग्रस्त महांकालस्थित ग्याता गुम्बा पुनर्निर्माण सम्पन्न भएको तीन महिना बितिसक्दासम्म पनि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदान रकम भूक्तानी दिएको छैन । ऋणमा डुबेको स्थानीय गुम्बा व्यवस्थापन समिति भूक्तानीका लागि जिल्लादेखि केन्द्रसम्म धाउन बाध्य भएको छ।
‘फाइल घुमेको घुम्यै छ । तर भूक्तानी पाएनौँ,’ ग्याता गुम्बाका अध्यक्ष आशराम तामाङले नागरिकसँग भने। स्थानीय लगानीमा बनेको यो परम्परागत बौद्ध गुम्बा २०७२ वैशाख १२ को भूकम्पले क्षतिग्रस्त बनाएको थियो। सम्पदा पुनर्निर्माणअन्तर्गत क्षति मूल्यांकनका आधारमा प्राधिकरण र स्थानीय समितिबीच दुई वर्षअघि गुम्बा निर्माणको लागि ५१ लाख रुपैयाँको अनुदान सम्झौता भएको थियो।
गत वैशाखमा पुनर्निर्माण सम्पन्न हुँदा १ करोड रुपैयाँ खर्च भएको अध्यक्ष तामाङले बताए । ‘झण्डै ५० लाख मेरै निजी लगानी परेको छ । बाँकी रकम स्थानीय समितिले व्यक्तिगत ऋण खोजेर जुटाएको हो,’ सम्पदा पुनर्निर्माण गर्दा ऋणमा डुबेका उनले भने । प्राधिकरणले अनुदान नदिएपछि आफ्नो नामको दुईटा घडेरी बिक्री गरेर पुनर्निर्माण खर्च जुटाएको उनी बताउँछन्।
जिल्लामा भूकम्पबाट क्षतिग्रस्त बौद्ध गुम्बा तथा स्तुपामध्ये पुनर्निर्माण सम्पन्न यो नै पहिलो गुम्बा हो । स्थानीय स्तरबाट ऋण जुटाएर पुनर्निर्माण सम्पन्न गर्ने पहिलो गुम्बालाई प्रोत्साहन गर्नुको सट्टा अनावश्यक झमेलामा फसाएर हतोत्साही बनाएको समितिका पदाधिकारी तथा सदस्यहरुको दुःखेसो छ । ‘सम्झौताअनुसारको अनुदान भूक्तानीका लागि प्राधिकरणविरुद्ध अदालत जाने तयारीमा छौँ,’ अध्यक्ष तामाङले भने ।
सम्पदा पुनर्निर्माणमा सरकारी उदासिनताको यो एउटा नमूना मात्र हो । सरकारकै कमजोरीले सम्झौताअनुसार पुनर्निर्माण अघि बढाएका कतिपय गुम्बा भूक्तानी नपाएर हैरान मात्रै छैनन्, भूकम्पबाट क्षतिग्रस्त बौद्ध गुम्बा तथा स्तुपाको पुनर्निर्माणमा ढिलाइसमेत भएको छ । प्राधिकरणले सम्झौता बमोजिम अनुदान उपलब्ध नगराउँदा नगन्य मात्रामा सुरु भएको गुम्बा पुनर्निर्माण अलपत्र परेको छ । अधिकांश गुम्बाको पुनर्निर्माण नै सुरु हुन सकेको छैन ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, आयोजना कार्यान्वयन इकाइका जिल्ला आयोजना व्यवस्थापक माधवजंग कार्की बौद्ध गुम्बा, स्तुपा लगायत सम्पदा पुनर्निर्माणमा प्राधिकरण केन्द्र नै मौन रहेको बताउँछन् । ‘दुई वर्षदेखि गुम्बा पुनर्निर्माणबारे कुनै निर्देशन आएको छैन, न अन्य अख्तियारी नै पाएका छौँ,’ उनले भने । उनका अनुसार बितेको आर्थिक वर्षमा प्राधिकरणले गुम्बा पुनर्निर्माण सम्वन्धि कुनै कार्यक्रम नै दिएन।
तामाङ, शेर्पा, गुरुङ, ह्योल्मो लगायत बौद्ध धर्ममार्गी समुदायका बाहुल्य रहेको सिन्धुपाल्चोक ‘गुम्बाको गाउँ’ ले चिनिन्थ्यो । पर्यटकीय गाउँ हेलम्बु, किउल, इचोक, बाँसखर्क, थाङपालकोट, भोताङ, बरुवा लगायत हिमाली गाउँमा पूरातात्विक महत्वका दर्जनौँ प्राचीन गुम्बा थिए । त्यस्ता प्राचीन गुम्बा र बौद्धमार्गीको संस्कार हेर्न तथा अध्ययन गर्न बार्षिक सयौँ आन्तरिक तथा बाह्य पर्यटक आउँथे । भूकम्पले क्षति पुर्याएका गुम्बाको अहिलेसम्म पुनर्निर्माण नहुँदा गुम्बाको गाउँ पहिचान नै संकटमा परेको छ ।
व्यक्तिगत र समुदायको लगानीमा समेत पछिल्लो समय थुप्रै सम्पदा निर्माण भएकाले जिल्लामा कति गुम्बा थिए र भूकम्पले कतिलाई क्षतिग्रस्त बनायो भन्ने एकीन तथ्यांक छैन । जिल्ला प्राविधिक कार्यालयका प्रमुख इन्जियनरसमेत रहेका जिल्ला आयोजना व्यवस्थापक कार्कीका अनुसार पुनर्निर्माण गर्नुपर्ने भूकम्पले क्षतिग्रस्त बनाएका गुम्बाको संख्या २ सयवटा छ ।
क्षतिको मूल्यांकनका आधारमा प्राधिकरणले आर्थिक वर्ष २०७३/०७४ का लागि डेढ सय गुम्बा पुनर्निर्माणमा ६ करोड रुपैयाँ अनुदानको अख्तियारी पठाएको थियो । सोही आधारमा ग्याता गुम्बासहित सात गुम्बा पुनर्निर्माणको सम्झौता भएको कार्की बताउँछन् ।
त्यतिबेला प्राधिकरणले गुम्बा पुनर्निर्माणको जिम्मेवारी जिल्ला प्राविधिक कार्यालयमा रहने जिल्ला आयोजना कार्यान्वयन इकाइ (डिएलपिआइयु) लाई दिएको थियो । निजी आवास अनुदान व्यवस्थापनसहित गुम्बा पुनर्निर्माणको जिम्मेवारी साउनदेखि लागू हुने गरी पुनःसंरचना तथा पुनःगठन गरिएको आयोजना कार्यान्वयन इकाइले पाएको छ ।
सम्झौताअनुसार पुनर्निर्माण भइरहँदा कम क्षति भएका गुम्बाको धेरै र धेरै क्षति भएका गुम्बाको कम मूल्यांकन भएको भन्दै भूकम्प प्रभावित जिल्लाबाटै उठेको गुनासो बिवादमा परिणत भएपछि पुनर्निर्माण रोकिँदै आएको प्रमुख व्यवस्थापक कार्की बताउँछन् । सोही बिवादका कारण अनुदान नै फिर्ता भएपछि गुम्बा पुनर्निर्माण अलपत्र पर्दै आएको हो ।
बिवादको स्थायी समाधान निकाली पुनर्निर्माण अघि बढाउन प्राधिकरणले गत वर्षको कात्तिकमा प्रभावित जिल्लामा गुम्बाको पुनः प्राविधिक मूल्यांकन गराएको थियो । कार्कीका अनुसार पुनःमूल्यांकनपछि जिल्लामा पुनर्निर्माण गुर्नपर्ने गुम्बाको संख्या बढेर २ सय पुगेको हो ।
‘त्यसपछि गुम्बा पुननिर्माणबारे केन्द्रबाट अर्को निर्देशन र कार्यक्रम आएको छैन,’ उनले भने । अनुदान नै फिर्ता भएपछि सम्झौता गरेर पहिलो वर्ष पुनर्निर्माण थालिएका ६ गुम्बाको काम रोकिँदै आएको छ । त्यसमा खर्च भएको समुदायको व्यक्तिगत लगानीसमेत फसेको छ ।
प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरे सुरुमै कमजोरी हुन पुग्दा गुम्बा पुनर्निर्माणमा ढिलाइ भएको स्वीकार्छन्। ‘सुरुको प्रतिवेदनमा कुन गुम्बामा कति क्षति पुग्यो भन्ने बास्तिविक मूल्याकंन थिएन,’ गुम्बा पुनर्निर्माणमा ढिलाइ हुनुको कारण खोल्दै उनले भने, ‘क्षति भएको भन्ने सामान्य विवरण मात्र आएको थियो।’
सुरुको कमजोरी सच्याउन पछिल्लो पटक गरिएको प्राविधिक सर्वेबाट क्षतिको एकीन मूल्याकंनसहितको विस्तृत प्रतिवेदन प्राप्त भइसकेकाले पुनर्निर्माण तयारी प्रकृया थालिएको सहप्रवक्ता घिमिरेले जानकारी दिए । ‘गुम्बा पुनर्निर्माण सम्वन्धि कार्यविधिको मस्यौदा तयार भएको छ,’ उनले भने, ‘पुनर्निर्माणका अन्य योजना बनाएर यसै वर्षबाट काम थाल्दै छौँ।’
प्राधिकरणले क्षतिका आधारमा गुम्बालाई पुनर्निर्माण गर्नुपर्ने र प्रवलीकरण (मर्मतसम्भार) गर्नुपर्ने गरी दुई किसिमले बर्गीकरण गरेको छ । भूकम्प प्रभावित जिल्लामा पुनर्निर्माण र प्रवलीकरण गर्नुपर्ने गुम्बाको संख्या झण्डै १ हजार रहेको घिमिरेले जानकारी दिए ।
प्रकाशित: ६ श्रावण २०७५ १३:४८ आइतबार