समाज

गोली लागि एक घाइते

लहान – शुक्रबार राति सिरहाको धनगढीमाई नगरपालिका वडा नं. १३ मा मोटरसाइकलमा सवार दुई जनामाथि गोली प्रहार भएको छ।

गोली लागि सोही वडाका मोटरसाइकल पछाडी सवार प्रदीप कुमार यादव घाइते भएका छन्। यादवको बायाँ हात र बायाँ तर्फको कोखामा गोली लागेको सिरहाका प्रहरी प्रमुख (एसपी) जिवन श्रेष्ठले जानकारी दिए। घाइते यादवको उपचार विराटनगरको न्यूरो अस्पतालमा भइरहेको छ।

शुक्रबार राति स८प ३१९१ नम्बरको मोटरसाइकलमा हरेराम यादव र प्रदीप यादव घर जाँदै गर्दा एकान्त चौरमा तीन चार जनाको समूहले उनीहरूमाथि गोली प्रहार गरेकाे थियाे। घाइते प्रदीपको बयानको आधारमा प्रहरीले बेचन भनिने रामवृक्ष महतोलाई पक्राउ गरी अनुसन्धान सुरू गरेको छ।

पक्राउ परेका महतो धनगढी ९ का बासिन्दा हुन्। उनी धनगढी ९ मा नै पसल चलाएर बसेको प्रहरीले बताएकाे छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ।

प्रकाशित: ५ श्रावण २०७५ ०४:२३ शनिबार

गोली लागि घाइते