समाज

मूल्य घटेको विरोधमा सडकमा पोखियो दूध

दुुधको मूल्य घटाइएको विरोधमा चितवनको भण्डारास्थित सडकमा दूध पोख्दै किसान। तस्बिर : नागरिक

चितवन – दूधको मूल्य घटाएको भन्दै किसानले सडकमा दूध पोखेर विरोध जनाएका छन्। राप्ती नगरपालिकाका किसानले दूधको मुल्य घटाएको भन्दै पूर्वपश्चिम राजमार्गको भण्डारामा दूध पोखेर विरोध गरेका हुन्। नेपाल सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थानले असार १५ गतेबाट दूधको मूल्यमा एक लिटरमा तीन रुपैयाँँ घटाएको छ।

जेठ १६ गतेबाट निजी डेरी उद्योगले समेत एक लिटरमा २ रुपैयाँ ३७ पैसा मूल्य घटाएका थिए। डिडिसीले दूधको मूल्य घटाएपछि फेरि निजी डेरी उद्योगले साउन १ गतेदेखि मूल्य घटाएका थिए। किसानले दुःख गरेर उत्पादन गरेको दूधको मूल्य लागत जति पनि नपर्ने किसान सुधीर गौतम बताउँछन्। किसालने पाइरहेको मूल्य घटाउँदा दाना, चोकर, औषधिलगायत पशुपालनका लागि आवश्यक सामग्रीको मूल्य नघटेको उनले बताए।

सामान्यता किसानले एक लिटर दूध उत्पादक गर्दा करिब ५५ रुपैयाँ प्रतिलिटर लागत पर्छ। अहिले लागतको तुलना ज्यादै कम मूल्यमात्र किसानले पाइरहेको परेवाश्वरी दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष रामेश्वर सिंह बताउँछन्। किसानले १ लिटर दूध ४५ रुपैयाँमा बिक्री गर्नुपर्ने अवस्था आएको उनले बताए। चितवनमा दैनिक करिब ४ लाख ७० हजार लिटर दूध उत्पादन हुन्छ। राप्ती नगरस्तरीय दुग्ध उत्पादक सहकारी संस्था समन्वय समितिका संयोजक डिल्लीप्रसाद थपलियाले दूधको मूल्य घटाएर मिल्ड होलिडे गर्न लागिएको बताए।

प्रकाशित: ५ श्रावण २०७५ ०२:४१ शनिबार

घटेको विरोधमा सडकमा पोखियो दूध