समाज

डा. केसीलाई काठमाडौं पठाउन प्रहरीका दुई झूट

काठमाडौं - जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं पठाउन जुम्ला प्रहरीले दुई झुटको सहारा लिएको छ। सरकारले प्रहरी बल प्रयोग गरेर बिहीबार केसीलाई जुम्लाबाट काठमाडौं ल्याएको हो।

प्रतिष्ठान परिसरमा प्रहरीले भिड नियन्त्रणका लागि बिहीबार हवाई फायर गर्दा गोली लागि घाइते भएका प्रहरी जवान कमल आचार्यलाई जुम्लाका डिएसपी डा. तपनकुमार दाहालले मृत्यु भएको घोषणा गरिदिए। सञ्चारमाध्यममा ती प्रहरी जवानको गोली लागी मृत्यु भएको समाचार आएपछि प्रहरी प्रधान कार्यालयले उनको मृत्यु नभई सिसा र फलामको किला लागेर गम्भीर घाइते भएको विज्ञप्ति जारी ग-यो।

प्रतिष्ठानभित्रको भिडलाई नियन्त्रणमा लिनेक्रममा जुम्ला प्रहरीले हवाई फायर गरेको थियो। त्यसक्रममा सिसाको गोली प्रहरी जवान आचार्यलाई नै लागेको हो। तर, नेपाल प्रहरीले भने विज्ञप्ति निकालेर आचार्यलाई गोली नभई सिसा र काँटीले प्रहार गरिएको जनायो। जुम्ला प्रहरी प्रमुख डिएसपी दाहालले भने उनको घटनास्थलमै मृत्यु भएको माइकबाटै भनिदिए।

प्रहरी जवान आचार्य गम्भीर घाइते भएको अवस्थामा जुम्लाका प्रहरी प्रमुख डिएसपी दाहाललाई उद्धृत गर्दै समाचार माध्यमहरुमा उनको निधन भएको समाचार आएको थियो। त्यसको केही समयपछि प्रहरी प्रधान कार्यालयबाटै त्यसको खण्डन आयो। प्रधान कार्यालयले आचार्यको मृत्यु नभएको त जनायो तर सँगसगै उनलाई गोली लागेको नभई सिसाको टुक्रा लागेर घाइत भएको भन्दै अर्को झूट पनि प्रचार ग-यो । अहिले आचार्यको काठमाडौंमा उपचार भइरहेको छ।

प्रहरीले आफ्नो कमजोरी ढाकछोप गर्ने क्रममा उल्टै सञ्चार माध्यमलाई उपदेश दिँदै ‘समाचार ब्रेक गर्ने होडबाजीमा असत्य समाचार सम्प्रेषण’ नगर्न अपीलसमेत गरेको छ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शैलेश थापा क्षेत्रीले जारी गरेको विज्ञप्तिमा जवान आचार्य फलामको किला र सिसा लागेर घाइते भएको उल्लेख छ।

वरिष्ठ मुटु रोग विशेषज्ञ रामेश कोइरालाले आचार्यको स्वास्थ्य सम्बन्धमा ट्विट गर्दे छातीभित्र नै धारिलो बस्तु पसेको बताएका छन्। धारिलो बस्तु दाहिने छातीबाट छिरेर बायाँ छातीको माथिल्लो भागमा पुगेको उनले उल्लेख गरेका छन्। ‘दाहिने फोक्सो (प्लुरल क्याभिटी) पूरै तरल पदार्थले भरिएको छ (यहाँ रगत हुनुपर्छ)। देब्रे फोक्सोबाहिर पनि हावा छिरेको देखिन्छ र यति ठूलो क्षति गर्ने त्यो वस्तु गोली नै होला, काँटी वा सिसाको गति त्यत्रो हुन्न’, उनले ट्विीट गरेका छन् । उनका अनुसार यस्ता बिरामी भाग्यले मात्रै बाँच्छन्। ‘छातीको एकातिरबाट अर्कातिर गोली ह्याकुलामुनि रहेका मुटु, रगतका नली, स्वासनली वा खाना नलीमा चोट नलगाई पुग्दैन, यस्ता बिरामी या त भाग्य या त सर्जनको कमालले बाँच्छन्,’ डा. कोइरालाले भनेका छन्।

प्रकाशित: ५ श्रावण २०७५ ०१:३२ शनिबार

डा. केसीलाई काठमाडौं पठाउन प्रहरीका दुई झूट