समाज

भाग्यले बाँचेका ६ जना

पूर्वी रुकुमको धारापानी भिरबाट जिपबाट हाम फालेर बाँचेकी कोपिला। तस्बिर : नागरिक

नेपालगन्ज - बाटो धेरै खराब थिएन। पानी परेकाले केही चिप्लो भने थियो। रुकुमकोटबाट १६ जना यात्रु राखेर लु१ज २५७३ नम्बरको जिप धौलापहिरातर्फ जाँदै थियो। रुकुमकोटबाट हिँडेको पाँच मिनेटमा जिपको ‘कन्डिसन’ बिग्रियो। ढोकाअगाडि झुन्डिएका पुथा उत्तरगंगा गाउँपालिका–२, पेल्माका जयमान पुन (३७) सँगै अन्य चारजनाले जिपबाट हाम फाले। सोही गाउँपालिका वडा नं. १ की कोपिला पुन (२९) जिपचालकको ठीक पछाडि थिइन्। सानो बच्चा च्यापेर उनी पनि झ्यालबाट बाहिर निस्किइन्।

उनीहरू निस्केको एक मिनेट नपुग्दै जिप करिब दुई सय मिटर तल धारापानी भिरबाट खस्यो। ‘आँखैअगाडि खसेको जिप नरोकिँदै केही मान्छे खस्न थाले,’ जयमानले भने, ‘जिप खस्दै गयो।’ उनले त्यसपछि आफू सडकबाट झरेर उद्धारमा लागेको बताए। उनीसँगै ६ जना जिपबाट हाम फालेर बाँच्न सफल भए। ‘जिप खस्दा रोएकराएको आवाज आएको थियो,’ उनले भने, ‘केहीले बचाऊ भन्दै हारगुहार गरिरहेका थिए।’ तर, एक छिनपछि आवाज बन्द भयो । घटनास्थलमै चारजनाको मृत्यु भइसकेको थियो। सोही गाउँका छायाराम पुन मगर (४२) ले भने, ‘एकजनाको अस्पताल लैजाँदै गर्दा मृत्यु भयो। दुईजनाको अस्पतालमा मृत्यु भयो।’

घाइते भएका चारजना गम्भीर भएकाले आवाज आउन सकेन। बेहोस भएपछि उनीहरूको आवाज बन्द भएको उनी बताउँछन्। उक्त जिपमा योजनाको रकम निकासा गर्न आएका सर्वसाधारण थिए। शालिना बर्मा र ललिता परियार स्थानीय गैरसरकारी संस्थामा कार्यरत कर्मचारी हुन्। ‘यदि जिपबाट हाम नफालेको भए आमाछोरा सँगै मर्ने थियौं,’ कोपिलाले भनिन्, ‘भाग्यले बचायो। अहिले नयाँ जीवन पाए जस्तो भएको छ।’ कच्चीबाटोमा पुरानो र बिग्रिएको जिप चलाउँदा दुर्घटना भएको सर्वसाधारण बताउँछन्।

‘बाटो नै खराब छ,’ तेजेन्द्र पुन (२६) ले भने, ‘त्यसमा पनि बिग्रिएको सवारीसाधन।’ जसले गर्दा यहाँका बासिन्दा अकालमै ज्यान गुमाउन बाध्य भएको उनको भनाइ छ। पुराना सवारीसाधनको प्रयोग हटाउनुपर्ने उनले बताए । हाम फालेका ६ जनाले पुनर्जन्म पाएको उनको बुझाइ छ।

बैंक नहुँदा सास्ती
पुथा उत्तरगंगा गाउँपालिका–२, पेल्माका २३ वर्षीय किरण पुन गाउँमा निर्माण भएको खानेपानी योजनाको रकम लिन रुकुमकोट पुगेका थिए। योजना सकिए पनि गाउँमा बैंक नहुँदा उनी असार तेस्रो साता रुकुमकोट आए । रकम निकासापछि घर जाँदै गर्दा उनी जिपमा चढेको पाँच मिनेटमा मृत्यु भयो। धारापानीनजिकै जिप दुर्घटना हुँदा उनीसहित सातजनाको मृत्यु भयो। उनीजस्तै बुद्धिराज पुन पनि रुकुमको योजनाको रकम निकासा गर्न आएका थिए।

गाउँ शौचालय र सरसफाइ कार्यक्रमको एक लाख रुपैयाँ निकासा गर्न आएका उनको दुखद निधन भयो। रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा बैंक छैन । बैंकिङ कारोबार सबै जिल्ला सदरमुकाम रुकुमकोटमा गर्नुपर्ने बाध्यता छ। गाउँमा बैंक नहुँदा अकालमै मृत्यु हुनु परेको उनका आफन्तको भनाइ छ।

बैंक गाउँमा नहुँदा स्थानीयलाई अकालमै ज्यान गुमाउनु परेको जयमानले नागरिकसँग बताए। ‘यदि बैंक गाउँमा भएको भए हामी त्यही रकम निकासा गथ्र्यौं,’ उनले भने, ‘गाउँमा नभएपछि रुकुमकोट आउन बाध्य भयौं।’ सधैं जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको भन्दै उनले ग्रामीण क्षेत्रमा पनि बैंक स्थापनाका लागि सरकार अग्रसर हुनुपर्ने बताए।

बाँचेकाहरू पैदलयात्रा गर्ने
रुकुमकोटबाट पेल्मा जान पैदल चार दिन लाग्छ। जिपमा जाँदा एक दिन हिँड्नुपर्छ भने एक दिन जोखिपूर्ण जिपको यात्रा गरे पेल्मा पुगिन्छ। तर, जिप दुर्घटनामा हाम फालेर बाँचेकाहरू पैदल घर जाने बताएका छन्। जोखिमपूर्ण बाटोमा जिपमा यात्रा गर्दा पुनः दुर्घटना हुन सक्ने भन्दै उनीहरू पैदल जान लागेका हुन्। ‘यहाँबाट गाउँ पुग्न चार दिन लाग्छ,’ जयमानले भने, ‘दुर्घटनामा पर्नुभन्दा हिँड्नु राम्रो छ।’

प्रकाशित: ४ श्रावण २०७५ ०२:३० शुक्रबार

भाग्यले बाँचेका जना