समाज

बिरामीको स्वास्थ्य उपचारमा संलग्न हुनूः त्रिवि

काठमाडौं - त्रिभुवन विश्वविद्यालयले शिक्षण अस्पतालका चिकित्सकलाई बिरामीको स्वास्थ्योपचारमा संलग्न हुन आग्रह गरेको छ। त्रिविले बिहीवार विज्ञप्ति जारी गर्दै चिकित्सकीय धर्मविपरीत नगई सधैँझैँ बिरामीको स्वास्थ्योपचार गर्न सबै चिकित्सक, प्राध्यापक, प्राविधिक– अप्राविधिक प्राध्यापक र कर्मचारीलाई आग्रह गरेको हो। 

शिक्षण अस्पताल बन्द गर्दा स्वास्थ्योपचारका लागि आउने बिरामी संविधानले प्रदान गरेको स्वास्थ्यसम्बन्धी मौलिक हकबाट वञ्चित हुनुपर्ने भएकाले बिरामीको उपचारमा लाग्न तथा अस्पताल बन्द हुँदा करोडौँ  रुपैयाँ हानिनोक्सानी र आर्थिक घाटा व्यहोर्नु परेकाले निर्बाध रुपमा स्वास्थ्य सेवा सञ्चालन गर्न आग्रह गरेको हाे। 

विज्ञप्तिमा अनशनरत प्रा डा गोविन्द केसीले राखेका मागका बारेमा वार्ता टोली गठन गरेर समाधान खोज्ने प्रयास भइरहेकाले अहिलेको अवस्थामा शिक्षण अस्पताल र केन्द्रले जनतालाई स्वास्थ्योपचारका लागि दिने सेवामा बाधा अड्चन सिर्जना गर्न खोज्ने कुनै पनि संघ, समूह वा व्यक्तिको भ्रममा नपरी संस्थाको ऐन, नियममा रहन चिकित्सक, प्राध्यापक र कर्मचारीलाई अनुरोध गरिएको छ। 

त्रिविले स्वास्थ्योपचारका लागि आउने बिरामीको स्वास्थ्य सेवामा असर पार्ने गरी कुनै पनि माग राख्ने कार्य गर्नु र गर्न खोज्नु अत्यावश्यक सेवा ऐन, सर्वोच्च अदालतबाट पटक पटक जारी भएका आदेश, विश्वविद्यालयका ऐन, नियम विपरीत हुनाका साथै कुनै पनि चिकित्सकको चिकित्सकीय धर्म नभएको उल्लेख गरेको छ। 

विधिको शासनलाई मान्दिन, अनुशासनमा रहँदिन भन्ने कुनै पनि शिक्षक–कर्मचारीलाई संस्थामा आबद्धता जनाई तलबभत्ता बुझ्न नैतिकता र कानूनले पनि नदिने विज्ञप्तिमा जनाइएको छ । रासस

प्रकाशित: ३ श्रावण २०७५ १५:३२ बिहीबार

बिरामीको स्वास्थ्य उपचारमा संलग्न हुनूः त्रिवि