समाज

रसुवाको पाँच वटै गाउँपालिकाको स्तम्भ निर्माण

रसुवा – जिल्ला प्रशासन कार्यालय रसुवाले जिल्लाको पाँच वटै गाउँपालिकाको स्तम्भ निर्माण गरेको छ। 

जिल्लाको स्थानीय तहको राजनैतिक तथा भौगोलिक अवस्थाको बारेमा जानकारी दिने उद्देश्यले कार्यालय अगाडी स्तम्भ निर्माण गरिएको हो। स्तम्भमा जिल्लाको गोसाईकुण्ड, कालिका, आमाछोदिङ्मो, नौकुण्ड र उत्तरगया गाउँपालिकाको नक्सा राखिएको छ। 

नक्सामा गाउँपालिकामा रहेका वडा विभाजन र वडामा रहेका प्रमुख स्थानकोहरूको नाम उल्लेख गरिएको छ। जिल्ला प्रशासन सुधार कार्ययोजना २०७५ मा स्तम्भ निर्माण गरिने कार्यसूची थियो। जिल्लाको राजनीतिक विभाजनको बारेमा जानकारी दिने र सेवाग्राहीमा प्रशासनप्रतिको धारणा सकरात्मक बनाउनका लागि स्तम्भ निर्माण गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए। 

संघीय सरकारको प्रतिनिधि कार्यालय भएको र संघ, प्रदेश र स्थानीय तहबाट सेवाग्राही तथा अन्य व्यक्तिहरू आउने भएकाले जानकारी दिनका लागि सहज हुने विश्वास गरिएको छ। ‘स्थानीय तहप्रति कार्यालयको अपनत्व वोध हुन्छ, प्रजिअ पौडेलले भने, सेवाग्राही तथा जनप्रतिनिधिमा कार्यालयप्रति सकरात्मक धारणा बनाउन सहयोग पुग्छ।’

कार्यालयले हरेक आइतबार स्वास्थ्य सुविधा सहितको सार्वजनिक सेवा, अनलाइन तथा सामाजिक सञ्जालमार्फत सूचना प्रवाह, सरकारी सवारी साधनहरूको सदुपयोग, कार्यालयमा आएका सेवाग्राहीलाई फ्रि वाइफाई, तातो तथा चिसो पानीको व्यवस्था, चियाको व्यवस्था तथा प्राथमिक उपचार लगायतका अतिरिक्त सेवा सञ्चालन गरिरहेको छ। 

 

प्रकाशित: ३ श्रावण २०७५ ०७:१० बिहीबार

रसुवाको वटै गाउँपालिकाको स्तम्भ निर्माण