समाज

चिकित्सकहरू विभाजित

काठमाडौं - स्वास्थ्य संस्थामा हडताल गर्ने निर्णयलाई लिएर नेपाल चिकित्सक संघभित्र विवाद देखिएको छ।

संघको कार्यसमिति बैठकले डा. गोविन्द केसीका मागमा समर्थन गर्दै स्वास्थ्य संस्थामा हडताल गर्ने निर्णय लिँदा कोषाध्यक्ष डा. रक्षा श्रेष्ठले असहमति जाहेर गरेकी छन् ।

कोषाध्यक्ष श्रेष्ठले उक्त कार्यसमिति बैठकको निर्णयमा नोट अफ डिसेन्ट लेखेर असहमति जाहेर गरेकी हुन् । ‘नेपाल मेडिकल एसोसिएसनको मिति ०७५ साउन २ को बैठक र १ दिने बन्दको घोषणामा मेरो असहमति छ,’ श्रेष्ठले नोट अफ डिसेन्टमा लेखेकी छन्, ‘हामी चिकित्सक प्रत्यक्ष बिरामीको जीवनसँग सरोकार राख्ने हुनाले बन्दहडतालमा असहमति जनाउँछु ।’ उक्त बैठकमा कार्यसमितिका १५ मध्ये ५ जना मात्रै उपस्थित थिए ।

नेपाल प्रगतिशील चिकित्सक संघ र राष्ट्रिय चिकित्सक संघले पनि हडतालका कार्यक्रमप्रति आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारी गरेका छन् । बुधबार संयुक्त रूपमा विज्ञप्ति जारी विज्ञप्तिमा भनिएको छ, ‘जनताको स्वास्थ्य सेवा पाउने अधिकारप्रति उच्च सम्मान गर्दै हरेक अनशनमा डा. केसीले कहिल्यै पनि सेवा अवरुद्ध गरी आन्दोलनमा लाग्न भन्नुभएको छैन।

डा. केसीका सहयोगीसहित तीन संगठन अस्पतालमा हडताल गर्ने निर्णयको विपक्षमा

तर, उहाँको समर्थन गर्ने व्यक्ति, समूह तथा संघसंस्था अति संवेदनशील मानिएको अस्पताल सेवा बन्द गरी आन्दोलन गराउन अग्रसर छन्, यो तीन करोड नेपाली जनताको हित, पेसागत मर्यादा र स्वयं डा. केसीको मान्यताविपरीत छ ।’ दुई संगठनले प्राकृतिक प्रकोप र मौसमका कारण पनि बिरामी बढ्ने भएकाले अस्पतालमा हडताल गर्न खोज्नेलाई सचेत गराउँदै आएका छन् ।

नेपाल प्रगतिशील चिकित्सक संघका अध्यक्ष डा. कृष्णसागर शर्मा र राष्ट्रिय चिकित्सक संघका अध्यक्ष डा. सन्तोष पौडलले गत असार ३० गते नै हडतालको विपक्षमा उभिएको जानकारी गराएका थिए ।डा. केसीका प्रमुख सहयोगी डा. अभिषेकराज सिंहले पनि अस्पताल बन्द गर्ने कार्यप्रति आपत्ति जनाउँदै आएका छन् । ‘डा. केसीको समर्थनमा अस्पताल बन्द गर्ने कार्यमा हाम्रो समर्थन छैन,’ सिंहले नागरिकसँग भने, ‘बन्दको विकल्प खोज्न मैले नै चिकित्सक संघका साथीहरुलाई भेटेर जानकारी गराइसकेको छु ।’ सिंहले गत असार ३१ गते संघका पदाधिकारीलाई भेटेर बन्द नगर्न अनुरोध गरेका थिए ।

एसोसिएसन अफ प्राइभेट मेडिकल कलेज एन्ड डेन्टल कलेज अफ नेपालले पनि अस्पताल हडताल गर्ने निर्णय प्रति असहमति जनाएको छ । ‘बिरामीहरुको स्वास्थ्यको ख्याल नगरी बारम्बार यो वा त्यो नाममा अस्पताल बन्द गर्दै जाने प्रवृत्तिले हामी कसैको भलो गर्दैन,’ संगठनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सरकारले डा. केसीले उठाएका मागका सम्बन्धमा छलफल गर्न पहल गर्नुपर्छ भने डा. केसीले पनि परिवर्तित सन्दर्भमा विगतमा झंै बारम्बार अनशन बसी सरकारलाई झुकाउँछु भन्ने हठ गर्नु सान्दर्भिक देखिँदैन ।’

प्रकाशित: ३ श्रावण २०७५ ०१:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App