समाज

अवैध सुन तस्करी गर्ने पक्राउ

काठमाडाैं- महानगरीय प्रहरी परिसर काठमाडौँले अवैध रुपमा सुन तस्कर गरेको आरोपमा दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ। 

परिसरको टोलीले वैदेशिक रोजगारीका सिलसिलामा भन्सार छलेर सुन ल्याउँदै गरेका अवस्थामा धनुषाका ५० वर्षीय रामसुगारत यादव र काभ्रेपलाञ्चोकका ३२ वर्षीय पाल्देन लामालाई आइतबार पक्राउ गरेको थियो।

परिसरका प्रवक्ता मोहनकुमार थापाले अभियुक्त यादवसँग रु चार लाख ८७ हजार ९४५ बराबरको ९९.५ ग्राम सुन र लामासँग रु चार लाख ८८ हजार बराबरको १०० ग्राम सुन बरामद गरिएको जानकारी दिए। अभियुक्त दुवै जनालाई आवश्यक कारवाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाइएको प्रवक्ता थापाले बताए। 

प्रकाशित: ३२ असार २०७५ १४:२९ सोमबार

अवैध सुन तस्करी गर्ने पक्राउ