समाज

बिरुवा रोप्नेलाई सरकारले खर्च दिने

बिरुवा स्याहार तथा सम्भार गरेबापत सरकारले दिएको सम्भार खर्च थाप्दै टुल्कमाया पौडेल।     तस्बिर: खगेन्द्र/नागरिक

ताप्लेजुङ – धेरैलाई थाह नभएको पनि हुन सक्छ। आफ्नो सामुदायिक वन होस् वा निजी जग्गा, त्यसमा बिरुवा लगाएर राम्रो सम्भार गर्ने बिपन्न परिवार वा समूहले सरकारबाट सहयोग पनि पाउने रहेछन्। 

जिल्ला वन कार्यालय ताप्लेजुङले जिल्लामा उत्कृष्ट बिरुवा रोपण तथा संरक्षण गरेको भन्दै पाथीभरा याङ्वरक गाउँपालिका वडा नम्बर ३ तिरिङ्गेकी एक महिलालाई पुरस्कृत गरेको छ। तिरिङ्गे दुधिलेकी एकल महिला टुल्कमाया पौडेललाई नगद ११ हजार रुपैयाँ सहित पुरस्कृत गरिएको हो।

जिल्लाा वन अधिकृत बिष्णुलाल घिमिरेले बिरुवा उत्पादन गर्ने, रोपण गर्ने र त्यसको नियमित स्याहार तथा सम्भार गर्ने बिपन्न परिवारलाई सरकारबाट प्राप्त हुने सहयोग यसवर्ष टुल्कमायाले पाएको जानकारी दिए। उनका अनुसार बिरुवा रोपण गरी उत्कृष्ट सम्भार गर्ने परिवारले सरकारबाट प्रति बिरुवा ३ देखि ५ रुपैयाँ सम्म पाउने छन्। घिमिरेले तर बिपन्नताको स्तरीकरणमा भने समस्या रहेको बताए।

एकल महिला र बिरुवाको उत्पादन, रोपण र सम्भार तथा संरक्षणमा विशेष ध्यान दिइ जडिबुटीको बगाान जस्तै बनाउन टुल्कमाया समक्ष भएकोले  प्रति बिरुवा ५ रुपैयाँका दरले सम्भार खर्च दिएको जानकारी दिए। तिरिङ्गेमा रहेको सयपत्री पोखरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष खड्गबहादुर पौडेलका अनुसार टुल्कमायाले कुरिलो, सतुवा, बोझो, बुढी हाप्तो ओके आलु, चिमफिङ, सल्ला टिम्बुर लगायतका २ हजार २ सय बिरुवाको बगान मात्र बनाएकी छैनन्,त्यसको नियमित सम्भार गर्दै बिरुवा हुर्काउन र व्यवसायिक खेती प्रर्बद्धनमा उनको मेहनेत प्रशंसा योग्य छ।

जिल्ला वन अधिकृत घिमिरेले बिरुवा रोपेर मात्र होईन,यसको नियमित सम्भार गर्ने र हुर्काउने हो भने सरकारले यस्तो कार्यमा संलग्न बिपन्न परिवारलाई सम्भार खर्च दिने जानकारी दिए। वन क्षेत्रको अनुगमनका लागि सुरक्षा निकाय तथा सरोकारवाला सम्मिलित संयुक्त अनुगमन तथा निरीक्षणका क्रममा तिरिङ्गे पुगेको टोलीले टुल्कमायालाई सम्भार खर्च वितरण गरेको छ। जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेन, फुङ्लिङ नगरपालिकाका प्रमुख छत्रपति प्याकुरेल र प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले टुल्कमायालाई संयुक्त रुपमा बिरुवा सम्भार खर्च हस्तान्तरण गरेका छन्। 

प्रकाशित: ३१ असार २०७५ १२:५५ आइतबार

बिरुवा रोप्नेलाई सरकारले खर्च दिने