समाज

मसिना लेकमा बन्यो प्यास मेट्ने ट्यांकी

अर्घाखाँची  - अर्घाखाँची भूमिकास्थान–९ स्थित मसिना लेकमा खानेपानी ट्यांकी निर्माण भएको छ। जिल्लाको अग्लो टापुमध्ये पर्ने यस क्षेत्रमा पर्यटन प्रवद्र्धनलाई जोड दिने लक्ष्यसहित आठ हजार लिटर पानी अट्ने ट्यांकी निर्माण गरिएको हो।

प्राकृतिक हराभरा र डाडाँकाडाले घेरिएको मसिना लेक भौगोलिक रुपमै पछौटे मानिन्छ। यो ठाउँमा खाँचीकोट र सुपादेउराली हुँदै साढे दुई घण्टा उकालो चढेर पुगिन्छ। अग्लो क्षेत्र भएकोले आसपासमा कुनै खानेपानीका मुहान छैन। सदरमुकाम सन्धिर्खक, ऐतिहासिक खाँचीकोट, पाणीनी, डमरू दह, अर्घा दरबार र सुपादेउराली पुग्ने पर्यटकलाई यस क्षेत्रमा पनि लैजान सकियोस भन्ने हेत्तुले खानेपानीको बन्दोबस्त मिलाउने जर्मको गरिएको हो।

ढिकुरा रुपन्देही समाजको संलग्नतामा खानेपानीको ट्यांकी निर्माण गरिएको समाजका कोषाध्यक्ष राजन घिमिरेले जानकारी दिए। उनले भूमिकास्थान नपा–९ मा घर भई विभिन्न ठाउँमा छरिएर रहेका युवा तथा उद्यमीहरुको आर्थिक सहयोगमा ट्यांकी निर्माण भएको बताए। ‘हाम्रो क्षेत्रलाई चिनाउने र त्यसको महत्व खोज्ने जिम्मा हाम्रै हो,’ उनले भने, ‘लामो प्रयासपछि मसिनालेकमा खानेपानीको ट्यांकी निर्माण भएको छ, त्यस क्षेत्रमा पर्यटकीय विकासको लागि यो पहिलो खुड्कीलो हो।’

पानी ट्यांकी निर्माण भएपछि उक्त क्षेत्रमा प्रवेश गर्ने सडक निर्माणको काम अघि बढाउन थालिएको छ। त्यसको लागि भुजेलपानीदेखि ढुंगाको सिढी बनाउने कार्ययोजना तय भएको छ। पर्यटकीय सम्भावना बोकेको क्षेत्रमा मोटरबाटो भन्दा टे«किङ मार्गलाई जोड दिइएको छ। अहिले यो क्षेत्रमा पर्यटकको ओहोरदोहोर छैन। ‘पहिलो चरणमा खानेपानीको ट्यांकी बनेको छ,’ समाजका अध्यक्ष डिल बहादुर थापाले भने, ‘हामीले गरेको कार्यमा नगरपालिकाको पनि ध्यानाकर्षण भएको छ, केही समयमै यो क्षेत्रलाई हामी सबै मिलेर पर्यटकीय मार्गको रुपमा विकास गर्छौं।’

ट्यांकी निर्माणको लागि २ लाख ५० हजार खर्च भएको छ। उक्त रकम वैदेशिक रोजगारमा गएका युवा, उद्यमी, समाजसेवा तथा अन्य निकायका व्यक्तिबाट संकलन भएको थियो। ‘सरकारी निकायको मुख मात्रै तोकेर मात्रै हुन्न, हामीले देखेको हाम्रो क्षेत्रको सम्भावनालाई आफैले पनि खोजी गर्नुपर्छ,’ कोषाध्यक्ष घिमिरेले भने, ‘सबैले हातेमालो गर्ने हो भने स्थानीयस्तरबाटै पनि आफ्नो क्षेत्रलाई परिचित बनाउन सकिन्छ। उनका अनुसार भुजेलपानी, चरेपानी, दमार, सेङलेङ, नरपानी लगायत ठाउँबाट मसिना लेकमा प्रवेश गर्न सकिन्छ। तर, उक्त क्षेत्रबाट मसिना लेकको टुप्पोमा पुग्नको लागि सजिलो बाटो छैन। नगरपालिकाले भुजेलपानीदेखि ढुंगाका सिढी ओछ्याउने योजना अघि सार्ने जनाएको छ। अग्ला डाँडाकाडाँ र भीरपाखा भएकोले सुरक्षित पैदल यात्रा गरेर पुग्नको लागि सिढी बनाउने कार्यलाई प्राथमिकतामा राखिएको हो।

त्यसको त साढे दुईघण्टा उकालो लागेर पुगिने यस क्षेत्रमा पिकनिक स्पोर्ट बन्न सक्ने र रमाउने ठाउँहरु प्रसस्त छन्। यहाँबाट तराईका समथर फाँट, हिमाल, पडाही जिल्ला र भारतका केही स्थानहरूको दृश्य नियाल्न सकिन्छ।

भुमिकास्थान नपा–९ का वडाध्यक्ष नारायण प्रसाद खनालले युवाहरूको कामलाई कदर गर्दै नगरपालिकाले पनि थप कार्ययोजना तय गर्न लागेको बताए। उनले पर्यटकीय क्षेत्रको अध्ययन–अनुसान्धानमा आफूहरुको चासो रहेको जानकारी दिए। ‘यो क्षेत्रलाई हामीले पर्यटकीय क्षेत्रको रुपमा चिनाउँछौं, पहिलो चरणमा भुफेदी जलाधार क्षेत्र र मसिना लेकको लागि ५ लाख बजेट विनियोजन भएको छ,’ उनले भने, ‘आगामी बर्ष यसलाई अझ प्राथमिकतामा राख्छौं ।’ उनका अनुसार यस क्षेत्रमा ऐसितहासिक सिद्ध गुफा छ। जिल्लाको अन्य पर्यटकीय ठाउँसँग जोडेर एक हप्ते ‘प्याकेज टुर’ अवधारणा ल्याउन सकिने छ। मसिना लेकमा पर्यटकीय ‘टुर प्याकेज’ बनाउनका लागि यस्तैखाले अन्य ठाउँहरुको पनि सम्भाना खोजिने उनको भनाई छ।

यो ठाउँमा २०७० फागुन ५ गते नेपाल एयरलाइन्सको जहाज पनि दुर्घटना भएको थियो। किंवदन्ती अनुसार पौराणिक कालमा कश्यपादी ऋषिहरुले तपस्या गर्दा योगेश्वर देवी प्रसन्न भइन । त्यतिबेला ऋषिहरुले चारैवेद आफुहरुको अधिनमा रहोस भनेर वर मागे। उक्त ठाउँको नाम मसिना कुटी (मसिना लेक) हो। यसतर्फ जिम्मेवार निकायले खोजीनिती नगर्दा यो कथन ओझेलमा परेको मानिन्छ।

प्रकाशित: ३१ असार २०७५ ०३:४० आइतबार

मसिना लेकमा बन्यो प्यास मेट्ने ट्यांकी