समाज

भूकम्पले टहरामा बास, बाढीले उठिबास

भक्तपुर - शनिबार साँझ सिमसिम पानी परिरहुँदा भक्तपुरको लिवालीस्थित भूकम्पपीडित अस्थायी टहरमा बसिरहेका पीडितहरुको एउटै चिन्ता थियो, अब कहाँ बस्न जाने होला? बुधबार रातिदेखि परेको भीषण वर्षाका कारण बिहीबार हनुमन्ते खोलामा आएको बाढीले डुबानमा परेका उनीहरु फेरी पनि डुबानमा पर्ने डरले विल्कल्पको खोजीमा थिए।

हनुमन्ते खोलासँगैको भक्तपुर नगरपालिकाको जग्गामा अस्थायी टहरामा रहेका उनीहरुको सामूहिक टहरा बिहीबार डुानमा परेको थियो। डुबानका कारण बुधबार रातिदेखि नै सामान ओसार्न थालेका उनीहरुलाई अहिले पनि यस्तै समस्या आउला भन्ने चिन्ता छ।

ससाना एक छोरा र एकछोरीसहित तीनजनाको परिवारमा रहेका पीडित सृजना बाटाजूले भनिन्, ‘भूकम्पले हामीलाई टहरामा बास गरायो, अब बाढीले उठिबास कहिले गराउने हो थाहा छैन।’ २०७२ को भूकम्पको वर्ष साउन पनि बाढीका कारण उठिबास भएका उनी आफना दुई सन्तानलाई लिएर कता बस्न जाने भन्ने चिन्ताले पीडित छन्। ‘श्रीमान् बित्नुभयो, मसँगै ससाना दुई छोराछोरी मात्रै छन्, यस्तो अवस्थमा म कहाँ जाउँ?’ उनले प्रश्न गरिन्।

यहाँको अस्थायी टहरामै आफूसहित सासू, श्रीमान्, दुई ससाना छोराछोरी बसिरहेकी दयालक्ष्मी छ्वाजूका अनुसार बुधबार रातिदेखि भीषण वर्षाका कारण यहाँका सात परिवार विस्थापित भएका थिए। ‘टहरामा पानी पस्न थालेपछि हामीले बुधबार राति १२ बजेदेखि नै ती परिवारको टहरामा रहेका परिवारहरुको सामान ओसार्न थालेका थियौं’, उनले भनिन्। उनका अनुसार बाढीका कारण यहाँका चण्डेश्वरी दुवाल, सुनिता बोयजू, सीतालक्ष्मी त्योछिन, सीता तुईतुई, शर्मिला बुयो, रत्न छ्वाजू र कृष्णगोपाल तचामोको टहरामा पानी छिरेर सामान ओसार्नु परेको थियो। वर्षा कम भएपछि भनै उनीहरु अहिले टहरामै सरेका छन्। तर पनि कहिले फेरी पनि त्यहाँबाट विस्थापित हुनुपर्ने हो कि भनेर उनीहरु चिन्तित छन्।

यहाँकै टहरामा पाँच जनाको परिवारमा रहेका शर्मिला बुयोले टहरामा बस्नेहरुको सामूहिक शौचालयमा क्षति पु¥याएपछि दिसापिसाब गर्न समस्या रहेको सुनाए। बाढीका कारण क्षति पु-याएको सामूहिक शौचालय अहिले आफूहरुले मिलाएर बनाएको उनले सुनाए। पीडितहरु रहेको लिवाली भूकम्पपीडित पुनस्थापना केन्द्रमा मात्रै ४५ परिवारको सामूहिक टहरा छन्। तीमध्ये अहिले त्यहाँ २२ घरपरिवार बसिरहेका छन्। कोही कोठा लिएर बस्न गइसकेका छन्। आर्थिक अवस्था असाध्यै कमजोर रहेका २२ परिवार मात्रै अहिले टहरामा बसिरहेका छन्।

भूकम्प गएको यति लामो समयसम्म पनि भक्तपुरका धेरै ठाउँमा अझै पनि पीडितहरु अस्थायी टहरामै छन्। लिवाली क्षेत्रमा मात्रै भक्तपुर नगरपालिकाको तीन ठाउँका सार्वजनिक जग्गामा पीडितहरु सामूहिक रुपमा बसिरहेका छन्। साथै लिवालीका दुई ठाउँमा जग्गा भाडामा लिई पीडितहरु सामूहिक टहरामा छन्। लिवाली भूकम्प पुनस्थापना केन्द्रबाहेकका सामूहिक टहराहरु हुनमन्ते खोलाबाट नजिक नरहेकाले ती पीडितहरुलाई भने यो पटक डुवानको समस्या थिएन। तर यो भन्दा अघिल्लो वर्षको बाढीले भने उनीहरु पनि प्राभावित थिए।

प्रकाशित: ३१ असार २०७५ ०२:०२ आइतबार

भूकम्पले टहरामा बास बाढीले उठिबास