काठमाडाैं - मित्रराष्ट्र जनवादी गणतन्त्र चीन र म्यानमारको औपचारिक भ्रमण सम्पन्न गरी प्रधानसेनापति राजेन्द्र क्षत्री शुक्रबार स्वदेश फर्केका छन् । गत असार १९ गते दुई राष्ट्रको भ्रमणमा निस्कनुभएका क्षत्रीले भ्रमणका क्रममा असार २० गतेदेखि २३ गतेसम्म म्यानमारको र २४ गतेदेखि २९ गतेसम्म चिनको भ्रमण गरेका थिए।
म्यानमारमा रहँदा प्रधानसेनापति क्षत्रीले राज्य सल्लाहकार आङ् सान सुकी तथा त्यहाँका सेनाध्यक्ष मिन अङ् हल्याङ् र प्रवासी नेपालीहरुसँग भेटघाट गरेका थिए भने चिन भ्रमणमा क्रममा उनले चिनिया रक्षामन्त्री, सेनाध्यक्ष, वेस्टर्न सेक्टर कमाण्डर लगायत उच्च पदस्थ अधिकारीहरुसँग भेटवार्ता गरेका थिए।
उच्च तहको सैनिक नेतृत्व वर्गको यस किसिमको भ्रमणले नेपाली सेना र चीन तथा म्यानमारको सेनाबीच रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्ध बृद्धि हुनुका साथै द्विपक्षीय हित र पारस्परिक सम्बन्धलाई सैनिक कूटनीतिको माध्यमबाट थप सुमधुर एवम् प्रगाढ बनाउन मद्धत पुग्ने विश्वास नेपाली सेनाले लिईएको छ।
प्रकाशित: २९ असार २०७५ १०:३० शुक्रबार