समाज

नागरिकर्मी चापागाईंसहित ३ पत्रकार पुरस्कृत

नागरिककर्मी भिम चापागाईं (बीच)।

विराटनगर – नागरिककर्मी भीम चापागाईंसहित ३ पत्रकार बुधबार पुरस्कृत भएका छन्। विराटनगरस्थित सञ्चारकर्मी सञ्चार सहकारी संस्थाले आफ्नो सातौं स्थापना दिवसको अवसरमा उनीहरूलाई पुरस्कृत गरेको हो। 

नागरिककर्मी चापागाईं ओमप्रकाश गोयल आर्थिक पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका हुन्। ३१ हजार राशिको पुरस्कारबाट पुरस्कृत चापागाईं इलाममा रहेर आर्थिक, सामाजिक विषयमा खोजपूर्ण रिपोर्टिङ गरिरहेका पत्रकार हुन्।

त्यस्तै सहकारीले स्थापना गरेको २१ हजार राशिको मेम्बर चन्द्रलाल–दुर्गादेवी दाहाल श्रमजीवी पत्रकारिता पुरस्कारबाट अभयकुमार राई पुरस्कृत भएका छन्। टेलिभिजन पत्रकारितामा स्थापित हुँदै गएका राई विराटनगरलाई कार्यक्षेत्र बनाएर कार्यरत छन्। 

त्यसैगरी मीना श्रेष्ठ महिला पत्रकार प्रोत्साहन पुरस्कारबाट उर्लाबारीकी पत्रकार ज्योती चौहान पुरस्कृत भएकी छन्। राष्ट्रिय समाचार पत्रकी संवाददाता चौहान १० हजार राशिको पुरस्कारबाट पुरस्कृत भएकी हुन्। पुरस्कृत प्रतिभाहरूलाई १ नम्बर प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरेले दोसल्ला ओढाएर सम्मान गरेका थिए।

मोरङका पत्रकारहरू संलग्न रहेको सञ्चारकर्मी सञ्चार सहकारी संस्था विराटनगरले प्रत्येक वर्ष तीन पुरस्कार वितरण गर्ने जनाएको छ। श्रमजीवी पत्रकारको हितलाई ध्यान दिएर स्थापना भएको सहकारीले पत्रकारलाई प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कार स्थापना गरेको जानकारी दिएको छ। 

प्रकाशित: २७ असार २०७५ १३:१३ बुधबार

नागरिकर्मी चापागाईंसहित पत्रकार पुरस्कृत