समाज

चीन जाने प्रतिक्षामा ‘रुपसी र भद्र’

फाइल फाेटाे

काठमाडौं – नेपाल सरकारले चीनलाई उपहार दिन लागेको दुर्लभ एकसिंगे गैंँडाको एक जोडी ‘रुपसी र भद्र’ काठमाडौं ल्याइएको छ।

चितवनबाट मंगलबार एक कार्यक्रमकाबीच बिदाई गरिएको गैंँडा गएराति काठमाडौं ल्याइएको हो। राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख रामकुमार अर्यालले सडकमार्ग भएर गैंँडा सहज रुपमा काठमाडौं भित्र्याइएको जानकारी दिए।

काठमाडौं ल्याइएको गैँडा चीन पठाउने तयारी भइरहेको छ। अहिले उक्त गैंँडाको जोडीलाई ललितपुरको खुमलटारस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको केन्द्रीय कार्यालयमा राखिएको छ।

वि.सं. २०७३ असार २६ गते नेपाल सरकारले चीनलाई दुई जोडी गैंँडा उपहार दिने निर्णय गरेको थियो। त्यसको ठिक दुई वर्षपछि बिहीबार एकजोडी गैँंडा चीनलाई उपहारस्वरुप प्रदान गरिँदै छ। सरकारले पोथी गैँडाको नाम रुपसी र भालेको नाम भद्र राखेको छ।

‘सडकमा हुनसक्ने विभिन्न अवरोधलाई ध्यानमा राखेर गैँंडालाई एक दिन अगावै काठमाडौं्र ल्याइएको हो,’ चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले भने । उनीपनि गैँंडासँगै काठमाडौं आएका हुन्।

‘बाटोमा कुनै समस्या भएन, सहज रुपमा गैँंडा काठमाडौं ल्याइयो,’ उनले भने, ‘भोलि चीन पठाइने तयारीमा जुटेका छौँ।’ बाटोमा घाँस, केरा, बन्दागोभी, स्याउ र पानी खुवाउँदै गैँंडा ल्याइएको हो।

राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको बटुकदल गणका सह–सेनानी शिवराम खड्काको नेतृत्वमा आएको १० जना सैनिकसहितको टोलीले गैंँडालाई स्कटिङ गरेको थियो। काठको खोरभित्र राखिएको भद्रलाई ना५ख ७९९६ नं. र रुपसीलाई ना७ख १२७० नं. को ट्रकमा हालेर ल्याइएको हो।

गैंँडा ल्याउन चितवन निकुञ्जका प्रमुख ढकाल र राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख अर्यालको नेतृत्वमा भेटेरीनरी प्राविधिज्ञ, वन्यजन्तु प्राविधिज्ञ, मिस्त्री, संरक्षणकर्मी, तथा नेपाली सेना गरी ३५ जनाको टोली सहभागी थियो। पशु चिकित्सकसहित तीन जना चिनियाँ प्रतिनिधि पनि टोलीमा थिए।

‘गैँडालाई चाहिने खानेकुरा र आवश्यक जनशक्तिसहित हामी गैँंडा लिएर आएका छौंँ, बीचमा समस्या परे तत्कालै समाधान गर्ने टिम सँगै छ,’ कोषका चितवन प्रमुख अर्यालले भने।

घाँस काट्ने मान्छे, खोर बनाउने मिस्त्री, उपचारका लागि औषधिसहितका चिकित्सकसँगै ल्याएको अर्याल बताउछन्। बाटोमा ठाउँठाउँमा गाडी रोकेर गैंँडालाई दाना पानी खुवाइएको थियो। बेलाबेलामा गर्मीबाट जोगाउन नुहाइदिँदै गैंँडालाई काठमाडौं ल्याइएको हो।

रुपसी र भद्रलाई चीनको चिमोलङ सफारीपार्कमा राखिने छ। बाँकी एक जोडी गैँंडा राष्ट्रिय प्रकृति संरक्षण कोषको निगरानीमा कोषकै प्रांगणमा बनाइएको पिट बोमा (सानो खोर)मा राखिएको छ। सरकारी निर्णय अनुसार उक्त जोडी गैंँडालाई आगामी आर्थिक वर्षमा पठाइने छ।

काठमाडौंबाट गैंँडालाई विशेष कार्गो जहाजमा चीन पठाइने छ। केही समय गैंँडाको रेखदेख र चिनियाँ प्रतिनिधिलाई सिकाउनका लागि चितवन निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा. कमल गैरेको नेतृत्वमा कोषका भेटेरिनरी प्राविधिज्ञ किरण रिजाल, वन्यजन्तु प्राविधिज्ञ तीर्थ लामा, दिपप्रसाद चौधरी र विनोद दराई गैँंडासँगै चीन जाँदै छन्।

चीनमा गैंँडाको आवश्यक चिकित्सकीय सेवा र उसको स्याहार सुसारमा यहाँ भएका प्रक्रियाबारे चिनियाँ प्रतिनिधिलाई सिकाइने रिजालले बताए। गएको वैशाख १५ गते अन्दाजी दुई वर्षको भद्रलाई निकुञ्जको पश्चिम क्षेत्र खोरीया मुहान र वैशाख १७ गते रुपसीलाई सुकिभार क्षेत्रबाट समातेर ल्याइएको थियो।

नेपालले अहिलेसम्म विभिन्न देशमा गरेर २६ गैंँडा उपहार दिएको छ। विश्वमै दुर्लभ मानिने एकसिंगे गैँडा नेपाल र भारतमा मात्रै पाइन्छ। नेपालमा पछिल्लो गणनाअनुसार ६४५ वटा गैँडा रहेको छ। चितवनमा मात्रै ६०५ गैंँडा रहेको तथ्यांक छ। (नारायण ढुंगाना/रासस)

प्रकाशित: २७ असार २०७५ ०७:१६ बुधबार

चीन जाने प्रतिक्षामा रुपसी