समाज

मौसमको जानकारी बेलुनबाट

काठमाडौँ- मुलुकको मौसमी सूचना प्रणालीलाई व्यवस्थित र प्रभावकारी बनाउन जल तथा मौसम विज्ञान विभागले दैनिक रु २० हजारको मौसमी बेलुन उडाउँदै आएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जल तथा मौसम विज्ञान विभाग र त्रिभुवन विश्वविद्यालय, जल तथा मौसम विज्ञान केन्द्रीय विभागको सहकार्यमा यही असार ६ गतेदेखि बेलुन उडाउन शुरु गरिएको हो।

प्रत्येक दिन कीर्तिपुरबाट बिहान ५:३० बजे बेलुन उडाउने गरेको जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा ऋषिराम शर्माले जानकारी दिए।

उडाइएको बेलुन ३१ दशमलव ६ किलोमिटरमाथिसम्म पुगी बिहान ९ बजेसम्ममा काठमाडौँ र नुवाकोटका सिमाना आसपासमा खस्ने गरेका छन् । हाइड्रोजन ग्यास भरिएका यस्ता बेलुन माथि बढ्दै जाँदा न्यून हावाको चापका कारण फुक्दै जाने र एउटा उचाइमा पुगेपछि फुट्ने गर्छ।

बेलुनमा जडित सेन्सरले नियमितरूपमा मौसमी तथ्याङ्क पठाउने उनले बताए। मौसमी बेलुन उड्दाको सरदर गति छ मिटर प्रतिसेकेण्ड र झर्दाको गति तीन मिटर प्रतिसेकेण्ड हुने गरेको छ।

विभागका महानिर्देशक शर्माका अनुसार बेलुनले प्रत्येक सेकेण्डमा उच्च वायुमण्डलको तापक्रम, हावाको गति र दिशा, सापेक्षिक आद्रताको जानकारी दिन्छ । त्यसको आधारमा मौसम पूर्वानुमान गरिन्छ ।

उनले भने, “अहिले हामीले बेलुनमार्फत डाटा संकलन गरिरहेका छौं, सफ्टवेरमा काम भइरहेको हुन्छ, यसलाई छिट्टै सञ्चालनमा लैजान्छौँ, यसबाट नेपालको मनसुन पूर्वानुमान गर्न सजिलो र भरपर्दो हुनेछ ।”

अहिले अनुमानका भरमा भइरहेको मनसुन आगामी दिनमा बढी भरपर्दो हुने विभागको दाबी छ। हाल मौसम पूर्वानुमान महाशाखाले ग्लोवल मोडेलबाट नेपालको तीन दिनसम्मको मनसुन पूर्वानुमान गर्दै आएको छ । छिमेकी मुलुक भारतमा भने सातदेखि १० दिनसम्मको मौसम पूर्वानुमान गरिन्छ।

“शुरुमा तीनदिनको मौसमलाई बढी भरपर्दो बनाउँछौँ, पछि थपेर सात दिनसम्मको मौसम पूर्वानुमान गर्ने योजना छ । मौसमी बेलुनले माथिल्लो वायुमण्डलसम्म पुगेर मौसमको विवरण दिने भएकाले पूर्वानुमान गर्न सहज हुनेछ”, महानिर्देशक शर्माले भने।

अहिले उडेको बेलुन ३१ दशमलव ६ किलोमिटर उचाइमा पुगेर फुट्ने गरेको छ । बेलुन झर्दा त्यसमा झुण्ड्याइएको प्यारासुटको माध्यमबाट विस्तारै झर्ने हुँदा जोखिम अत्यन्त कम हुन्छ। यसरी प्रयोग भइसकेका बेलुन कसैले फेला पार्नुभएमा विभागमा पुर्‍याइदिनुहुन वा सम्पर्क गर्नुहुन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।

यससम्बन्धी सूचना पनि उडाइएको उपकरणमा टाँस गरिएको विभागले जनाएको छ । माथिल्लो वायुमण्डलको मौसमी सूचना मौसम पूर्वानुमानका लागि यस्तो बेलुन उपयोगी हुने र पूर्वानुमान अझ भरपर्दो हुने विश्वास विभागले लिएको छ ।यस्तो बेलुन भरपर्दो मौसमी सूचना प्राप्त गर्नका लागि सधैँ उडाइरहनुपर्ने विभागले जनाएको छ। रासस

 

 

प्रकाशित: २६ असार २०७५ १०:४२ मंगलबार

मौसमको जानकारी बेलुनबाट