समाज

पहिरोले अवरुद्ध मुग्लिन सडक सञ्चालनमा

फाइल फाेटाे/नागरिक

चितवन – नारायणगढ–मुग्लिन सडक खण्डको ठाउँ ठाउँमा खसेको पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको छ।

पहिरोका कारण आज बिहान ५ बजेदेखि अवरुद्ध सडक छ घण्टापछि ११ बजेदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

प्रहरीका अनुसार भरतपुर महानगरपालिका वडा नं २९, घुमाउनेमा ठूलो पहिरो खसेको थियो। सो ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।

त्यसैगरी, सोही सडकको टोपेखोला र जलबिरेमा पनि पहिरो खसेको थियो। पहिरो खसेका सबै ठाउँको पहिरो पन्छाएपछि सवारी पूर्णरुपमा सञ्चालनमा आएका छन्।

पहिरोका कारण रोकिएका सवारी पहिरो पन्छाएर सञ्चालनमा आएपछि आफ्नो गन्तव्यतर्फ लागेका छन्। विस्तारका क्रममा सडकका धेरै ठाउँमा भित्तो काटिएपछि पानी परेसँगै ठाउँ ठाउँमा पहिरो खस्ने सम्भावना भएकाले सचेत भएर यात्रा गर्न प्रहरीले सबैमा अनुरोध गरेको छ। रासस

प्रकाशित: २६ असार २०७५ ०६:५५ मंगलबार

पहिरोले अवरुद्ध मुग्लिन सडक सञ्चालनमा