समाज

गोली प्रहार गरी रौतहटमा मोटरसाइकल सहित चालक लुटिए

रौतहट – अज्ञात समूहले रौतहटमा गोली प्रहार गरी एक जनालाई लुटेको छ। शनिबार राति ८ः३० बजेतिर बारा सुर्वण गाउँपालिका–८ का किशोर साह कानुमाथि अज्ञात समूहले रौतहटको देवाही गोनाही नगरपालिका–४, लालबखैया खोला किनारमा गोली प्रहार गरी लुटपाट गरेको हो।

लुटेराको समूहले उनी सवार मोटरसाइकल, नगद र मोवाइल लुटेको छ।  गोली प्रहार गरेपनि उनको शरिरमा गोली नलागेपछि उनलाई रोकेर लुटेराको समूहले कुट्पिट गरी घाइते बनाएको छ। उनको निधारमा चोट लागेको छ। उनको गरुडास्थित हेल्पलाइन क्लिनिका उपचार भइरहको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रहरी निरीक्षक मनोज यादवका अनुसार उनी देवाही गोनाहीको प्रेमपुर गोनाहीमा रहेको ससुराली जाने क्रममा लुटिएका हुन्।

प्रहरीले लुटिएको मोटरसाइकल घटनास्थलभन्दा ३ किलोमिटर पूर्व देवाही गोनाही–८ को एक पोखरीनजिक फेला पारेको बताएको छ। आक्रमणकारिको व्यापक खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २४ असार २०७५ ०६:०३ आइतबार

गोली प्रहार गरी रौतहटमा मोटरसाइकल सहित चालक लुटिए