समाज

कर्तव्य ज्यान मुद्दामा ३ जनालाई जन्मकैद

भोजपुर– जिल्ला अदालत भोजपुरले कर्तव्य ज्यान मुद्दामा तीन जनालाई जन्मकैदको फैसला गरेको छ। अदालतले टेम्केमैयुङ गाउँपालिका वडा नं – ५ खावा चोलन्तीका स्थानीय ३१ वर्षीय भिमसेन राई, ३८ वर्षीय धर्मराज राई, र ३१ वर्षीय दिपेन्द्र राईलाई जन्म कैदको फैसला गरेको हो। 

जिल्ला न्याधीश हरीशचन्द्र इङनामको एकल इजालसले  सोही स्थानका ३९ वर्षीय धनहर्क राईलाई कुटपीट गरी मारेको अभियोगमा मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३ (३) बमोजिम जन्मकैदको फैसला गरेको हो। त्यस्तै, सोही घटनामा संलग्न रहेको अभियोगमा ६९ वर्षीय भिम कुमारी राईलाई ज्यान सम्बन्धी महलको १७ (३) बमोजिम १ वर्ष कैदको फैसला गरेको छ । 

उनीहरुले मृतक राईलाई गत २०७४ साल चैत्र ३ गते कुटपिट गरेपछि घटनालाई स्थानीय रुपमा मिलाएर रुखबाट लडेर घाइते भएको भन्ने जानकारी गराएका थिए। तर जिल्ला अस्पतालमा उपचारमा रहेका घाइते राईको विषयमा प्रहरीले अनुसन्धान गर्दा कुटपीट भएको पत्ता लागेको थियो।

जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि घाइते राईलाई थप उपचारको लागि चैत्र ८ गते विराटनगरको लागिएको थियो। राईको उपचारको क्रममा चैत ९ गते मृत्यु भएपछि प्रहरीले दुई जनालाई विराटनगर र अन्य दुई जनालाई घरबाट नै नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो। 

प्रकाशित: २० असार २०७५ १३:०९ बुधबार

कर्तव्य ज्यान मुद्दामा जनालाई जन्मकैद