समाज

खोलामा नवजात शिशुको शव फेला

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिकास्थित खोलामा बुधबार विहान एक नवजात शिशुको बेवारिसे शव फेला परेको छ। चौदण्डीगढी नगरपालिका ६ बेलटारस्थित द्वारखोला किनारमा भर्खर जन्मेको शिशुको लास फ्याँकिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बेलटारले जनाएको छ। 

अन्दाजी ९/१० महिनाको जस्तो देखिने बालकको शव खोलामा ढुंगाको चेपमा फालेको अवस्थामा स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए। शव बाढीले बगाएर ल्याएको हो वा कुनै अवैध गर्भधारण गरेका महिलाले गर्भपतन गरेर फालेको हो भन्ने यकिन हुन नसकेकाले यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रत्यक्षदर्शी स्थानीय शम्भु पौडेलका अनुसार शिसुको शव खोला किनारमा ढुंगाको चेपमा नदेख्ने गरी फ्याँकिएको हुनाले गर्भपतन गरेर फालेको अनुमान प्रहरीले गरेको छ। स्वस्थ र परिपक्व अवस्थाको नवजात शिशु सुत्केरी हुँदा प्रयोग गरिने सालनाल काटेको धागोसमेत नाभीमै भेटिएकाले अवैध गर्भपतनकै हुनसक्ने अनुमान गरिएको छ। 

प्रकाशित: २० असार २०७५ १२:३६ बुधबार

खोलामा नवजात शिशुको शव फेला