समाज

धादिङमा ५ वर्षीय बालकको हत्या

धादिङ– जिल्लाको बेनिघाट रोराङ गाउँपालिका वडा नं ३ मलेखु रिरचोकटार नजिकै कुल्डुम भन्ने ठाउँमा धारिलो हतियार प्रयोग पाँच वर्षीय बालकको हत्या भएको छ। स्थानीय बासु बयकोटीको पाँच वर्षीय छोरा आयुसमान बयलकोटीलाई उनकै ठुलोबुवा सीताराम बयलकोटीले गएराति ८ बजेतिर धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जानकारी दिएको छ। धारिलो हतियार प्रहार गर्दा बालकको घटनास्थलमै मृत्यु भएको हो। 

५४ वर्षीय सीताराम मानसिक सन्तुलन गुमाएका व्यक्ति भएको र विगतमा पनि सीतारामले परिवारका सदस्यहरुलाई कुट्ने पिट्ने गरेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सञ्जय तिमिल्सीनाले जानकारी दिए। हजुरबा नजिकै बसिरहेको बेलामा सीतारामले हँसिया प्रहार गरेपछि बालकको मृत्यु भएको तिमिल्सीनाले बताए। ५ वटा छोरी पाएपछि जन्मिएको छोराको पनि हत्या भएपछि बासु बयलकोटीको परिवार विक्षिप्त बनेको छ।  

बालकको हत्यापछि सीताराम फरार छन्। फरार सीतारामको खोजी कार्यको लागि गजुरी प्रहरी खटिएको छ। फरारको हुलिया सबै प्रहरी युनिटहरुलाई पठाइसकिएको र जंगलमा लुकेर बसेको हुनसक्ने आशंकमा प्रहरीले घटनास्थल नजिकैको जंगलमा सर्च गरेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ। घटनास्थल पृथ्वीराजमार्गको मलेखु बजारबाट ६ किलोमिटर दुरीमा पर्छ।

प्रकाशित: १८ असार २०७५ १२:५३ सोमबार

धादिङमा वर्षीय बालकको हत्या