समाज

तोपेखोलामा पहिरो खस्दा मुग्लिन सडक अवरुद्ध

फाइल तस्बिर

चितवन- अविरल वर्षाका कारण चितवनको इच्छाकामना गाउँपालिका वडा नं ६ स्थित तोपेखोला भन्ने स्थानमा खसेको पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ। 

बिहानभरि ठाउँठाउँमा खसेको पहिरोका कारण प्रभावित भएको उक्त सडकखण्डअन्तर्गतको तोपेखोलामा आज ११ः५० बजेको समयमा ठूलो पहिरो खसेर पुनः सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

पानी परिरहेको र पहिरो खस्ने क्रमसमेत नरोकिएकाले अहिले पहिरो पन्छाउने काम शुरु गर्न नसकिएको प्रहरीले जनाएको छ। 

यसअघि आज बिहान तोपेखोला, जलविरे र मुग्लिन डाँडामा पहिरो खस्दा अवरुद्ध भएको यातायात बिहान ९ः१० बजे खुलेको थियो। अहिले तोपेखोलामा खसेको पहिरो भने निकै ठूलो रहेको प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यले बताए। 

ट्राफिक प्रहरी कार्यालयका प्रमुख बेदप्रसाद गौतमका अनुसार चितवन र धादिङको सिमानामा पर्ने मौवाखोला नजिक पनि पहिरो गएर यातायातको आवागमन रोकिएको छ। रासस

प्रकाशित: १८ असार २०७५ ०९:०५ सोमबार

तोपेखोलामा पहिरो खस्दा मुग्लिन सडक अवरुद्ध