समाज

चीन पठाइने ‘भद्र’ र ‘रुपसी’ को स्वास्थ्य परीक्षण

रत्ननगर- सरकारले चीनलाई उपहार दिन लागिएको २ जोडी गैंडाको नेपाली र चिनिया चिकित्सक टोलीद्वारा स्वास्थ्य परीक्षण थालिएको छ।

यही असार १५ गते चीनको पशु क्वारेन्टाइनबाट आएका भेटेरिनरी चिकित्सक डा वाङ्ग र नेपाली भेटेरीनरी चिकित्सक टोलीले गैंडाको अन्तिम स्वास्थ्य परीक्षण थालेको हो।

नेपाली भेटेरिनरी चिकित्सक डा कमल गैंरे, डा अमिर षडौला, भेटेरिनरी प्रविधिज्ञ पुरुषोत्तम पाण्डे र किरण रिजालसहित वाङ्गको टोलीले गैंडाको स्वास्थ्य परीक्षण गरिरहेको राष्ट्रिय प्रकृति संरक्षण कोषका कार्यालय प्रमुख रामकुमार अर्यालले जानकारी दिए।

उनका अनुसार अन्य आठ वन्यजन्तु प्रविधिज्ञ गैंडाको रेखरेखमा खटिएका छन्। यसअघि गैंडाको अवस्था बुझ्न यही असार १३ गते चीनबाट आएको विज्ञ टोली असार १६ गते फर्किसकेको छ।

चितवनको सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषमा पिट बोमा (सानो खोर) मा राखिएको दुई जोडी गैंडामा मुख्य गरी खोरेत, क्षयरोग र ब्लूटङ्ग (नीलो जिब्रा हुने समस्या) लगायत रोगको परीक्षण भइरहेको स्वास्थ्य परीक्षणमा सहभागी डा अमिर षडौलाले जानकारी दिए। नमूना संकलन गरेर त्यसको प्रयोगशाला परीक्षण गरिने छ।

विगतदेखि नै गैंडाको स्वास्थ्य अवस्थाको अध्ययन गर्दै आएका डा कमल गैरेले भने अहिलेसम्म सबै गैंडा तन्दुरुस्त रहेको प्रतिक्रिया दिए।

पहिलो चरणमा यही असार २८ गते चीन पठाउने तयारी गरिएको एक जोडी गैंडामध्ये भाले गैंडाको नाम ‘भद्र’ र पोथी गैंडाको नाम ‘रुपसी’ राखिएको छ।

गएको वैशाखमा चितवन निकुञ्जको पश्चिम सेक्टरबाट तीन वटा गैंडालाई नियन्त्रणमा लिएर सौराहामा राखिएको छ। अर्को एउटा गैंडा भने भारतबाट उद्धार गरी ल्याइएको हो। रासस
 

 

प्रकाशित: १७ असार २०७५ १२:०४ आइतबार

चीन पठाइने रुपसी को स्वास्थ्य परीक्षण