समाज

बुद्धको काठमाडौं–बनारस नियमित उडान सुरु

काठमाडौं- निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले भारतीय धार्मिक सहर बनारसका लागि नियमित व्यापारिक उडान सुरु गरेको छ। काठमाडौँबाट बनारससम्मको  हवाई यात्रा  एक घण्टामा पुरा हुन्छ।

बुद्धले ४७ सिट क्षमतायुक्त ‘एटिआर४२–३२०’ सिरिजको जहाजबाट शुक्रबारदेखि बनारसका लागि नियमित उडान सुरु गरेको हो। पहिलो उडानमा जाँदा ३८ यात्रु र फकिंदा ४७ यात्रु रहेको कम्पनीले जानकारी दिएको छ। बुद्धले काठमाडौं–बनारस सेक्टरका लागि केही वर्षदेखि ‘चार्टर’ उडान गरिरहे पनि अब प्रत्येक सोमबार र शुक्रबार नियमित दुई उडान गर्न थालेको हो। पहिलो उडानलाई भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत तथा बिदाइ गरेका थिए। 

‘वृहत सम्भावना बोकेको नेपालको पर्यटनलाई भारतीय धार्मिक सहर बनारसमा प्रवर्द्धन गर्ने र उताका पर्यटकलाई हाम्रा पशुपतिनाथ, मुक्तिथान, जानकी मन्दिर, पोखरा जस्ता गन्तव्यमा आकर्षित गर्ने उद्देश्यले नियमित उडान सुरु गरेका हौं,’ बुद्धका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘बनारसमा बढिभन्दा बढी नेपालीलाई लैजाने लक्ष्य पनि छ।’

बुद्धका अनुसार बनारसका लागि भ्रमण प्याकेज पनि बनाइएको छ। सस्तो र सहज प्याकेजका कारण नेपाली पर्यटकलाई बनारस भ्रमणमा जान सजिलो हुने छ। हाललाई तीनथरी भ्रमण प्याकेज बनाइएको छ। प्रतिव्यक्ति ३२ हजार ५ सय रुपैयाँ सुरुवाती मूल्यको तीन रात चार दिनको बनारस–सारनाथ, ३४ हजारको तीन रात चार दिनको बनारस–गया–बोधगया र ४१ हजार ५ सय रुपैयाँको चार रात पाँच दिनको बनारस–इलाहावाद–अयोध्या प्याकेज बनाइएको छ। 

बुद्धको नियमित बनारस उडानको सफलताको शुभकामना दिन त्रिभुवन विमानस्थल आएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले मुलुकको पर्यटन क्षेत्रमा यसबाट असाध्यै सकारात्मक सन्देश गएको बताए। 

‘बुद्धको बनारस उडानले दुवै देशबीच कनेक्टिभिटीमा सहयोग पुग्ने छ,’ उनले भने, ‘नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक ल्याउन यस उडानबाट उल्लेख्य सहयोग पुग्ने विश्वास छ। मुलुकको समृद्धि, विकास र पर्यटन क्षेत्रको विस्तारका लागि यसखालका उडानबाट धेरै नै सहयोग पुग्ने छ।’

मन्त्री अधिकारीले निकट भविष्यमा नेपालगन्ज, जनकपुर, धनगढी र विराटनगर विमानस्थलबाट भारतका विभिन्न सहरमा अन्तरसिमा उडान गर्न निजी वायुसेवा कम्पनीलाई प्रोत्साहित गरिरहेको जानकारी दिए। ‘त्यहीअनुसार ती विमानस्थलमा पूर्वाधार निर्माण भइरहेका छन्,’ उनले भने।

बुद्धसँग हाल फ्रान्सको एटिआर कम्पनीमा निर्मित ७२ सिट क्षमताका पाँचथान ‘एटिआर७२–५००’, ४७ सिट क्षमतायुक्त तीनवटा ‘एटिआर४२–३२०’ तथा १८ सिट क्षमताका दुईवटा ‘बिचक्राफ्ट–१९००डी’ सिरिजका जहाज छन्। 

हाल बुद्धले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालगन्ज, भैरहवा, भरतपुर, सिमरा, जनकपुर, विराटनगर, भद्रपुर, पोखरा, धनगढी र तुम्लिङटार गन्तव्यका लागि दैनिक करिब तीन दर्जन उडान गरिरहेको छ। त्यसैगरी काठमाडौंबाट ‘माउन्टेन फ्लाइट’ र पोखरा विमानस्थलबाट ‘अन्नपूर्ण माउन्टेन फ्लाइट’ पनि गरिरहेको छ। त्यस्तै विराटनगरबाट तुम्लिङटार, पोखराबाट भरतपुर र भैरहवा उडान पनि गरिरहेको छ।

प्रकाशित: १५ असार २०७५ १५:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App