समाज

अन्य रोगका कारक पनि बन्ला प्रोस्टेट

भक्तपुर - नेपालीमा एउटा भनाइ छ, रोग लागेपछि उपचार गर्नुभन्दा रोग नै लाग्न नदिनु जाति। यही भनाइ लागू हुन्छ, प्रोस्टेट अर्थात पुरुष यौन ग्रन्थी समस्यामा पनि।

चिकित्सकहरुका अनुसार उमेरसँगै प्रोस्टेट बढ्नु प्राकृतिक नियम हो। यसको वृद्धि रोक्ने कुनै औषधि पनि छैन। तर समस्या निराकरण गर्न भने सकिन्छ। उमेर बढेसँगै प्रोस्टेट बढ्ने भएकाले ५० वर्ष उमेर कटेपछि नियमित चेकजाँच गराउनुपर्छ।

चिकित्सकहरुका अनुसार प्रोस्टेट बढ्दा धेरैलाई केही पनि समस्या नहुन सक्छ तर समस्या हुनेलाई तत्काल उपचार गर्न सकिएन भने त्यो जतिको पीडादायी अरु हुँदैन। प्रोस्टेट बढेर पिसाब तथा मुत्रथैली सम्बन्धी विभिन्न समस्याहरु हुने चिकित्सकहरु बताउँछन्।

यसका लक्षण तथा समस्याहरुमा छिटोछिटो पिसाब लाग्ने, राति पिसाब बढी लाग्दा, एक पटकभन्दा बढी निन्द्राबाट उठनुपर्ने, पिसाब लागेपछि रोक्न नसकिने, पिसाबको धारा मसिनो हुने, पिसाब रोकिरोकि आउने, पिसाब गर्न कुर्नुपर्र्ने, पिसाब पुरा ननिख्रिने आदि छन् ।

वीर अस्पतालस्थित चिकित्सा विज्ञान राष्ट्रि«य प्रतिष्ठानका सहप्राध्यापक डा. अनिल श्रेष्ठ प्रोष्टेट बढ्दा कतिपयलाई अन्य रोगको कारकका रुपमा पनि देखिएको छ। ‘मुत्रनली प्रोस्टेटभित्र हुने भएकाले यो बढ्दा मुत्रनली च्यापिने, यसले पिसाब फेर्दा समस्या हुने मात्रै नभई यसले प्रोस्टेटको संक्रमणदेखि क्यान्सरसम्म हुनसक्छ,’ डा. श्रेष्ठले थपे। उनका अनुसार पुरुष हार्मोनको वृद्धि र वंशानुगत कारणले पनि प्रोस्टेट बढेर समस्या हुने गर्दछ।

डा. इवामुरा मेमोरियल अस्पताल सल्लाघारी भक्तपुरका चिकित्सक डा. अरविन शाह छिटो छिटो पिसाब लाग्ने समस्या भयो कि उमेर पुगेका पुरुषले तुरुन्त चेकजाँच गराउन सुझाउँछन्। ‘मुत्रथैलीमा पत्थर वा संक्रमण भए पनि यस्तै लक्षण देखाउँछन्, त्यसैले प्रोस्टेटको कारण भएको हो वा मुत्रथैलीको समस्याका कारण भएको हो जाँच गराएर समाधान खोज्नुपर्छ,’ उनले सुझाए।

यसका लागि खानपिनमा ध्यान दिनुका साथै नियमित शारीरिक व्यायाम गरी स्वस्थ शरीर बनाउनुपर्नेमा उनको जोड छ। ‘बेवास्ता गरी बसेमा यो रोगका कारक हुनसक्छ,’ डा. शाहले थपे, ‘यसैका कारण क्षयरोग र क्यान्सरसम्म हुने सम्भावना रहन सक्छ।’

यही तथ्यलाई मध्यनजर गरी भक्तपुरको सल्लाघारीस्थित डा. इवामुरा मेमोरियल अस्पतालले असार १ गतेदेखि एक महिने अभियान सुरु गरेको छ। प्रोस्टेटबाट बच्न सचेतना जगाउन अस्पतालले अभियान सुरु गरेको छ। अस्पतालका व्यवस्थापक रञ्जित मारिखूले यो समस्या हुन नदिन अस्पतालले दैनिक १५ जनासम्मलाई विशेषज्ञ डाक्टहरुबाट प्रोस्टेटको समस्या सम्बन्धीको निःशुल्क परामर्श सेवा प्रदान गरिरहेको जानकारी दिए। अभियानको क्रममा आफूहरुले यसबारे सचेतना जगाउँदा सर्वसाधारण सचेत हुने गरेको अनुभव उनले सुनाए।

प्रकाशित: १५ असार २०७५ ०२:२२ शुक्रबार

अन्य रोगका कारक बन्ला प्रोस्टेट