धादिङ – माथिबाट पहिरो खस्छ, तलबाट भाँसिदै गर्छ। बस्ती माथिको पहिरो हेर्दै त्रासै त्रासमा दिनरात गुज्रिने गर्छ, उत्तरी धादिङका स्थानीयको। २०७२ साल वैशाखमा गएको भूकम्पले चिराचिरा परेको जमिन र पहिरोको डर थेक्दै आइरहेका उत्तरबासीहरू ज्यानको बाजी लगाएर बसिरहेका छन्। कहिले भूकम्प त कहिले पहिरोको जोखिम सहेर बस्दै आइरहेकाहरू डरैडरमा दिन गुजार्न बाध्य छन्।
भूकम्पपछि उत्तरी भेगका बस्ती र जमिन बस्न नहुने गरी चिराचिरा परेको छ। चिराचिरा परेकै जमिनमा सुरक्षित बासको खोजी गरिरहेको खनियाबास गाउँपालिका वडा नं ४ का अर्जुनबहादुर तामाङले बताए। ‘जोखिम छ भनेर भूगर्वविदको अध्ययनले थाहा पाएपनि सुरक्षित ठाउँ भने जान पाएका छैनौँ’ तामाङ भने, ‘न बस्ने घर छ, न सर्ने भर छ।’ आफ्नो थाकथलो छोडेर अनन्त्र जानु पनि ठाउँ नभएकाले पहिरोको क्रासैक्रासमा दिन कटाइरहेको तामाङले बताए। सरकारले सुरक्षित ठाउँमा सारिदिने भन्ने कुरा कथा मात्रै भएको तामाङले गुनासो गरे।
जिल्लाको उत्तरी क्षेत्रको खनियाबासको झार्लाङ, दार्खा, सत्यदेवी, रुविभ्यालीको लापा, तिप्लिङ, सेर्तुङ, लगायतका ठाउँहरू पहिरोको जोखिम भएको ठाउँको रुपमा चिनिन्छन्। हरेक वर्षको वर्षा सुरु भएपछि बस्ती माथिको पहिरो हेरेर ज्यानलाई जोगाउनुपर्ने हुन्छ। ‘एकपछि अर्काे विपदसँग जुध्दै सुरक्षित बासको खोजीमा छौँ’ तामाङले भनिन्, ‘पहिरो झर्छ कि भन्ने डरले न दिनमा भोक छ न रातमा निदाउन सकेको छु।’ भोक र अभावले डामिएर सुरक्षित बासको पर्खाइमा रहेकाहरू सरकारको भरमै कैयौं रात कटाएका छन्।
भूकम्पले दिएको चोटले खनियाबासका बीरबहादुर तामाङको आँखा अझै ओभाएको छैन। चोट बिर्सन नपाउदै फेरी अर्को विपत्ती पैदा गरेको छ। घरैमाथिको पहिरोले उनलाई बारम्बार झस्काइ रहन्छ। वर्खा लागेपछि ज्यान कसरी जोगाउने भन्ने चिन्ता मात्रै हुने गरेको तामाङ बताउँछन्। ‘भूकम्पले घर भत्काइदियो, चिराचिरा जमिनमै बस्ती बसाएपनि सुरक्षित भएको महशूस कहिले गर्न पाएका छैनौँ’, तामाङले भने, ‘भाग्न सक्नेहरू भागेर ज्यान जोगाएका छन् नसक्ने बालबालिका र वृद्धवृद्धालाई समस्या हुने गर्दछ।’
पहिरो झरेपछि घण्टौँ लगाएर पढ्न हिडेका बालबच्चाहरू विद्यालयबाट घर फर्कन्छन् कि फर्कदैनन भन्ने चिन्ता हरेक शिक्षक, अभिभावकलाई हुने गर्छ। मंगलसेनदेबी मावि नेत्रावती डबजोङ गाउँपालिका– १ धादिङका शिक्षक रमेश कुबरले बताए। ‘पानी पर्ने बित्तिकै विद्यालयका कोठा र आँगनमा भेल पसेर बस्नै नमिल्ने हुन्छ’ कुवरले भने, ‘विद्यालय आवतजावत गर्न पनि पहिरो छिचोल्दै आउनुपर्ने भएकाले जोखिम बढेको छ।’ पढाईमा पनि प्रभावित हुने गरेको कुबँरले बताए।
भूकम्पले जमिन चिराचिरा भएपछि भूर्गवविद्ले त्यस भेगका बस्ती अन्यत्रै सार्नुपर्ने बताएका थिए। केही बस्तीहरू सदरमुकाम आसपासका खाली ठाउँमा आएर बसेका छन् भने केही त्यहि नै जोखिम सहदै बस्दै आइरहेका छन्। कतिपय बस्तीहरू बस्न योग्न नभएको बताउँदै आएपनि त्यहि बस्तीमा घर बनाउँदै बस्दै आइरहेका छन्। खनियाबासको वडा नं १ र २ नम्बर पहिरोको जोखिम सूचीमा पर्दछ।
यता पूर्वपश्चिम हुँदै राजधानी जाने र आउने पृथ्वी राजमार्गको विभिन्न स्थान पनि पहिरोको जोखिममा रहेको छ। वर्खा सुरु भएदेखि नै माथिबाट लेदो झरेर सडक अवरुद्ध हुने गरेको छ। पृथ्वी राजमार्गको मौवाखोला, कृष्णभीर, बैरेनी लगायतका ठाउँमा पहिरो झरेर बाटो अवरुद्ध हुने गरेको छ। जसले गर्दा यात्रा गर्ने यात्रुहरू जोखिम मालेर यात्रा गर्न बाँध्य छन् भने वरपर बस्ने स्थानीयहरु पनि क्रासै क्रासमा बस्नुपरेको छ।
प्रकाशित: १४ असार २०७५ १२:१० बिहीबार