समाज

मनसुन देशैभर फैलिय : सामान्यदेखि मध्यम खालको वर्षा हुने

काठमाडौं – यस वर्षको मनसुन देशैभरि फैलिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले एक विज्ञप्ति जारी गर्दै मनसुनको प्रभावले तीन दिनसम्म देशका धेरै स्थानहरुमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको हो। देशका पूर्वी र मध्यका केही स्थानमा सक्रिय भएको मनसुन बुधबारदेखि मध्य हुँदै पश्चिमतर्फ फैलिएको मौसमविद् सुवास रिमालले जानकारी दिए।

उनका अनुसार क्रमिक रुपमा मनसुनी वर्षाको गतिविधि बढ्नेछ। आज पनि देशका अधिकांश भेगमा बदली र केही स्थानमा वर्षा भएको छ। आज साँझ र रातितिर काठमाडौं उपत्यकासहित देशका केही स्थानमा वर्षा हुने महाशाखाले जनाएको छ।

महाशाखाले यस वर्ष जेठ २५ (जुन ८) देखि पूर्वी भेगबाट नेपालमा मनसुन प्रवेश भएको घोषणा गरेको थियो। मनसुन घोषणा भएको लामो समय बितिसक्दा पनि पूर्ण रुपमा सक्रिय हुन नसक्दा पर्याप्त वर्षा हुन सकेको थिएन।

महाशाखाको पछिल्लो विवरणअनुसार आज सबैभन्दा बढी डडेल्धुरामा १८, दाङमा १२, विराटनगरमा ११ मिलिमिटर वर्षा भएको छ। काठमाडौंको भने वर्षा रेकर्ड गरिएको छैन। आज काठमाडौंको अधिकतम तापक्रम ३० र न्यूनतम तापक्रम २० डिग्री सेल्सियस रहेको छ। रासस

प्रकाशित: १४ असार २०७५ ०९:२७ बिहीबार

मनसुन देशैभर फैलिय सामान्यदेखि मध्यम खालको वर्षा हुने