चितवन - नारायणगढ–मुग्लिन सडक विस्तार गर्ने काम तीन वर्षदेखि चलिरहेको छ । पहाड फोरेर गरिएको सडक विस्तार अन्तिम चरणमा पुगे पनि वर्षात्को यो समयमा दैनिकजसो खस्ने पहिराका कारण बारम्बार सडक बन्द हुने गरेको छ ।
जसका कारण हुने घण्टौं जामले यो सडक भएर राजधानी भित्रिने तथा बाहिरिने हजारौं यात्रुले सास्ती भोग्नुपरिरहेको छ ।सडक विस्तारका लागि पहाड फोर्ने काम चलिरहँदा यसअघि यात्रु हिलाम्मे र खाल्डाखुल्डीयुक्त सडकमा यात्रा गर्न बाध्य थिए । अहिले पहिलो तहको कालोपत्रे (पीच) सकेर उक्त सडकखण्ड चिल्लो त पारिएको छ तर यो बर्खा मासमा दैनिकजसो खस्ने पहिरोका कारण यात्रुले भोग्नुपर्ने सास्ती भने कम हुन सकेको छैन ।नारायणगढ–मुग्लिन सडक खण्डमा पछिल्लो तीन दिनदेखि निरन्तर पहिरो खसिरहेको छ । पहिरो खस्दा पाँच घण्टादेखि ११ घण्टासम्म सडक अवरुद्ध हुने गरेको छ । बुधबार पनि चारकिलो भन्ने ठाउँमा पहिरो खस्दा पाँच घण्टा २० मिनेट सडक बन्द भयो । बिहान साढे ६ बजे खसेको पहिरो पन्छाएर ११ बजेर ५० मिनेट जाँदा मात्र यातायात सञ्चालन गरिएको थियो।
यसअघि मंगलबार चारकिलो नजिकैको टोपेखोलामा पहिरो जाँदा एघार घण्टा सडक बन्द भयो । बिहान ५ बजे खसेको पहिरो हटाउँदा दिउँसोको करिब ४ बजेको थियो । सोमबार जलविरे, कालिखोला, चारकिलो र तीन नम्बर पुल क्षेत्रमा पहिरो जाँदा करिब आठ घण्टा सडक अवरुद्ध भएको थियो।
ना २ ख ५११ नम्बरको माईक्रोबसका चालक हरि भुजेल मंगलबार काठमाडौंबाट नारायणगढ १२ घण्टामा आइपुगे । अहिले विस्तार गरिएको सडक राम्रो भए पनि पहिरोका कारण हुने सडक बन्द घण्टौं जामले धेरै समय लाग्ने गरेको उनले बताए । ‘पोहोर पहिरोले दुई रात नै यही सडकमा बस्नु परेको थियो,’ उनले भने, ‘वर्षाको यो दुई महिना गाडी चलाउन पहिरोले गर्दा धेरै गाह्रो हुन्छ ।’ बर्खाको समय अरू बेलाजस्तो छुट्याएर हिँडेको समयमा यात्रा पूरा नहुने उनले बताए ।
नारायणगढ–मुग्लिन सडक खण्डमा पछिल्लो तीन दिनदेखि निरन्तर पहिरो खसिरहेको छ । पहिरो खस्दा पाँच घण्टादेखि ११ घण्टासम्म सडक अवरुद्ध हुने गरेको छ ।
सडक खण्डमा आधाभन्दा बढी सडक पहाड फोरेर फराकिलो बनाइएको छ । यसै कारण सडकमा पहिरोको जोखिम बढेको हो । पानी परेका बेला मात्र होइन, अन्य बेलामा समेत सुक्खा पहिरो जाने जोखिम धेरै छ । जलविरेदेखि मुग्लिनसम्म पहिरोको उच्च जोखिम भएको क्षेत्र मानिन्छ । सडक आयोजनाका अनुसार गएको वर्ष सडकखण्डमा ३ सय १४ वटा ठूला पहिरो गएका थिए।
वर्षा सुरु भएसँगै यस वर्ष पनि पहिरो खसेर सडक बन्द हुने क्रम बढेको छ । यी तीन दिन पहिरो खसेका टोपे खोला, चारकिलो र जलविरे क्षेत्रलाई पहिरो खस्ने क्षेत्र मानिएको थिएन । नारायणगढ–मुग्लिन सडक आयोजनाका सिनियर डिभिजनल इन्जिनियर गोविन्दप्रसाद अर्याल जोखिम मानिएको क्षेत्रभन्दा फरक ठाउँमा पहिरो खसेको बताउँछन् । सडक विस्तार गर्न पहाड फोर्ने काम सकिएपछि गरिएको अध्ययनमा पाइएको जोखिमयुक्त ठाउँभन्दा फरक ठाउँमा पहिरो खसेको उनले जानकारी दिए ।
‘अनुमान गरिएभन्दा अन्य ठाउँबाट पहिरो झरिराखेको छ,’ उनले भने, ‘हामीले विज्ञहरूलाई देखाउँदा उनीहरूले दिएको रिपोर्टअनुसार पहिरो जोखिम क्षेत्र भनेर ३२ ठाउँ तोकेका थियौं ।’ विज्ञले औंल्याएका ३२ ठाउँमा भने पहिरो रोकथामका काम भइरहेका छन् । १४ करोड रुपैयाँको लागतमा रक एङकरिङ, रक नेटिङ, रक बोल्टिङ, बोस्टेरिङ, जुट नेटिङ र बायो इन्जिनियरिङका काम भइरहेका छन्।
असार मसान्तसम्म सक्ने गरी सुरु गरिएको पहिरो रोकथामका काम ६० प्रतिशत सकिएको सिनियर डिभिजनल इन्जिनियर अर्यालले जानकारी दिए । खुकुलो चट्टान भएका ठाउँमा सीधा र तेर्साे गरी दुईदेखि चार मिटर प्वाल पारेर रड राखिन्छन् । ती रडमा कंक्रिट हालेर रड र चट्टाटानलाई जमाउने कामलाई रक एङकरिङ भनिन्छ ।
रक एङकरिङ गरिएका ठाउँमा नट राखेर जालीले ढाक्ने रक नेटिङको काम सडक खण्डका नौ ठाउँमा भइरहेका छन् । एङ्करिङ जसरी नै मोटो रड राखेर चिरिएका ढुंगालाई झर्न नदिन गरिने उपाय नै रक बोल्टिङ भएको अर्यालले जानकारी दिए । कमजोर माटो भएको ठाउँलाई जुटले ढाकेर घाँस, विरुवाका बीउ छरेर पहिरो रोकथाम गर्ने काम पनि सडक खण्डमा भइरहेको छ।
भिरालो जमिनमा पानी बगेर पनि पहिरोको जोखिम बढ्ने भएकाले निश्चित ठाउँबाट पानी बग्ने गरी निकास बनाउन बोस्टेरिङको काम भइरहेको छ । यसका साथै घाँस, बिरुवा, बुट्यान लगाएर माटो बग्न नदिन बायो इन्जिनियरिङको काम पनि गरिँदैछ । पहिरो रोकथामका उपायहरू पहिले नै अनुमान गरिएका ठाउँमा मात्र गरिने सिनियर डिभिजनल इन्जिनियर अर्यालले जानकारी दिए ।
नयाँ देखिएका जोखिम ठाउँका लागि थप बजेट व्यवस्था भएपछि मात्र काम हुने उनले बताए । सडक विस्तार काम अहिलेसम्म ९३ प्रतिशत सकिएको सिनियर डिभिजनल इन्जिनियर अर्यालले जानकारी दिए । चौथोपटक थपिएको म्याद सकिएकाले निर्माण कम्पनीले फेरि म्याद थपको माग गरेर काम गरिरहेका छन् । सडक खण्डमा पहिरो नै खस्नबाट रोक्न नसकिए पनि पहिरो खस्नासाथ हटाउन सके मात्र पनि यात्रा धेरै सहज हुने थियो।
पहिरो खस्नासाथ हटाउन एक्साभेटर र लोडर ‘स्ट्यान्डबाई’ नहुँदा बाटो खुलाउन धेरै समय लाग्ने गरेको छ । नारायणगढ–मुग्लिन सडक भएर यात्रा गर्ने यात्रुलाई भइरहेको सास्तीलाई ख्याल गरेर सडकको सूचना एसएमएसबाट पनि लिन सकिने व्यवस्था गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले सडक बन्द वा खुला के छ भन्ने बारेमा एसएमएसबाट जानकारी लिन सकिने सुविधा मंगलबारबाट दिन थालेको हो ।
पहिरो, दुर्घटना लगायतका कारण हुने सडक अवरुद्धको जानकारी एसएमएसबाट लिन सकिने ट्राफिक कार्यालयका प्रमुख वेदप्रसाद गौतमले जानकारी दिए । नारायणगढ–मुग्लिन सडकको अवस्थाबारे जानकारी लिन मोबाइलको म्यासेज बक्समा गएर एनएमटी टाइप गरी ३४८४८ मा एसएमएस गरेपछि आफ्नो मोबाइलमा जानकारी आउने जनाइएको छ ।
प्रकाशित: १४ असार २०७५ ०१:२२ बिहीबार