समाज

शव निकालियोः बेलबगर बस्ती जोखिममा (तस्बिरसहित)

बागलुङ– यो वर्षको मनसुन सुरु हुन नपाउँदै वितण्डा मच्चाउन सुरु गरेको छ । सोमबार साँझदेखि परेको अविरल वर्षसंगै आएको पहिरोले पुरिएर जिल्लाको बरेङ गाउँपालिका—१ धुल्लुबासकोटमा तीन जनाको मृत्यु भएको छ ।

राती करिब साढे ११ बजेको समयमा घरमाथिबाट खसेको पहिरोले पुरै घर पुरिँदा धुल्लुबासकोटका ४० वर्षीय विष्णुबहादुर खत्री, उनकी श्रीमती वर्ष ३५ की विष्णु खत्री र उनीहरुको तीन महिनाको छोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता डिएसपी विश्वराजसिंह थापाले जानकारी दिए । उनीहरुको शब निकालिएको छ।

बाग्लुङबाट गएको मुचुल्का टोलीले मुचुल्का गरेपछि मात्रै शवको पोष्ट मार्टमका लागि बागलुङ ल्याईने प्रहरीले जनाएको छ । भीषण वर्षासंगैको पहिरोले ईलाका प्रहरी चौकी गल्कोट हरिचौरको प्रतीक्षालय समेत बगाएको छ । हरिचौरको खहरे खोलामा वर्षासँगै आएको बाढीले उक्त प्रतिक्षालय बगाएको डिएसपी थापाले बताए । संगैको दुर्गा भवानी मन्दिरको प्रतिक्षालय पनि पहिरोले बगाएको छ । हरिचौर स्थीत महिला कार्यालय र हुलाक कार्यालय समेत जोखिममा परेको छ । ददिलाभाटीमा ठूलो वर्ष भएपछि गौदी खोलमा आएको बाढीले नरेठाँटीमा धानखेती मासेको छ ।

गल्कोट नगरपालिका—३ धुस्तुङमा पनि पहिरोले क्षति पुर्याएको छ । पहिरोका कारण विद्युत अवरुद्ध भएको गल्कोट नगरपालिका—३ का वडाध्यक्ष विरजङ भण्डारीले बताए । बाढि पहिरोले मध्यपहाडी लोकमार्गको ठाउँ ठाउँमा क्षति पु¥याएको छ । गलकोट नगरपालिका—७ को दिपज्योति आधारभूत विद्यालयको तटबन्ध बगाएको छ । गल्कोट नगरपालिकाको बामियाँ—आँगाखेत जोड्ने झुलुङ्गे पुल बगाएको छ । गल्कोट नगरपालिका वाड नम्बर ९ को गल्याङ, रिश्मी सिँचाई कुलो बगाएको स्थानीयले बताएका छन् । गल्कोट—१ दुदिलाभाटीका कृष्ण कुँवरको घर पहिरोको जोखिममा छ । बरेङ गाउँपालिकाका विभिन्न ठाउँमा वर्षाका घर गोठ भत्किएका छन्।

बेलबगरको २० घर जोखिममा
कालिगण्डकी करिडोर निर्माणका क्रममा फालिएको माटोले पहिरोको रुप लिँदा जैमिनी नगरपालिका—७ र ८ जैदी र छिस्तीमा पर्ने बेलबगरको सिङ्गो बस्ती नै जोखिममा परेको छ । नेपाल रेडक्रस सोसाईटी बेलबगर उपशाखा सभापति हरिनारायण पौडेलले दिएको जानकारी अनुसार करिडोरबाट आएको बाढि पहिरोले करिब २० घर विस्थापित हुने अवस्थामा पुगेका छन् । बाढि पहिरोका कारण बेलबगरका चन्द्र पौडेल, चन्द्र केसी, हिरामणी शर्मा, रामप्रसाद पाध्या, डिलाकुमारी जैसी, छबिलाल पाध्या, नरबहादुर अधिकारी, शोभाखर सुवेदी, लक्ष्मीदेवी चालिसे लगायतको घर जोखिममा परेको छ । ‘करिडोरबाट आएको बाढी पहिराले करिब २० घर जति जोखिममा छ, उनीहरुलाई तत्कालै पुनस्थापना गर्नुपर्ने देखिएको छ,’ पौडेलले भने,‘हामी अहिले उनीहरु सुरक्षित स्थानमा सार्ने तयारीमा छौं ।’

प्रमुख जिल्ला अधिकारी प्रभावित क्षेत्रमा
बाढि पहिराले तीन जनाको मृत्यु हुनुको साथै ठूलो भौतिक क्षति भएको बरेङ गाउँपालिकाको स्थलगत अवलोकन र राहत प्रदानका लागि प्रमुख जिल्ला अधिकारी सहितको टोली त्यस तर्फ प्रस्थान गरेको छ । प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेल, प्रहरी उपरीक्षक दीपक रेग्मी, जिल्ला समन्व्य समिति प्रमुख राजेन्द्र ढुङ्गाना र अर्जूनवाण गणको गणपति सहित टोली राहत लिएर त्यस तर्फ प्रस्थान गरेका जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी धिरेन्द्रराज पन्तले जानकारी दिए।

शव निकालियोः बेलबगर बस्ती जोखिममा तस्बिरसहित