समाज

फेरि छाउगोठमै फर्किए महिला

सुर्खेत – चौकुने गाउँपालिका–६ भाबरकी अनिता शर्मा स्थानीय विद्यालयमा १२ कक्षामा अध्ययनरत छिन्। तीन वर्षअघि विवाह गरेर भाबर आएकी शर्मालाई महिनावारी हुँदा छाउगोठमा बस्नुहुन्न भन्ने राम्रोसँग जानकारी छ । तर ‘देउता रिसाउने’ डरले उनी महिनावारी भएका बेला पाँच दिनसम्म छाउगोठमा सुत्न बाध्य छिन्।

‘छाउगोठमा सुत्दा पाँच दिन पाँच वर्षजस्तो लाग्छ’, उनले भनिन्, ‘खुला र एकान्त ठाउँमा बनाइएको सानो झुपडीमा रात बिताउनुपर्दाको पीडा शब्दमा व्यक्त गर्न सकिँदैन।’ भाबरका ५३ घरधुरीमा महिनावारी हुने महिलाको संख्या अहिले ९० को हाराहारीमा छ। यी महिलाका लागि अहिले गाउँमा पाँचवटा छाउगोठ छन्। केही छाउगोठ बन्ने क्रममा छन्। महिनावारी भएका बेला एकान्त ठाउँमा बनाइएका खरको झुपडीमा बस्नुपर्दा स्वास्थ्यका साथै मानसिक समस्या झेल्नुपर्ने उनीहरु बताउँछन्। ‘एकान्तमा बनाइएको खुला छाप्रोमा रात बिताउनुपर्दा निकै असुरक्षित महसुस हुन्छ’, शर्माले भनिन्, ‘हामी पारिवारिक दबाबले डर मानीमानी बस्नुपर्ने बाध्यतामा छौं।’

२०७१ सालमा गुठुका एक सय ९३ सामूहिक तथा व्यक्तिगत छाउगोठ भत्काइएका थिए। सोही वर्ष चैत १० गते तत्कालीन गाविसस्तरीय छाउपडी उन्मूलन समितिको सहकार्यमा वातावरण सुधार समाजले गुठुलाई छाउपडीमुक्त घोषणा ग-यो। महिनावारी भएका महिला घरमै बस्न थाले। यो क्रम केही समय चल्यो । तर यसले निरन्तरता पाउन सकेन। गुठु फेरि पुरानै अवस्थामा फर्किएको छ। महिनावारी भएका महिला अहिले घर छाडेर फेरि छाउगोठमा बस्न थालेका छन्।

भाबरकै प्रतीक्षा बयक महिनावारी हुँदा एक वर्षसम्म घरमै बसिन्। छाउगोठ भत्काउने अभियन्तासमेत रहेकी उनी अहिले फेरि छाउगोठमा फर्किएकी छन्। ‘देउता रिसाए भन्दै घरकाले बस्नै दिएनन्’, बयकले भनिन्, ‘छाउगोठ हटाउने अभियानमा सक्रिय म आफैं महिनावारी हुँदा छाउगोठमा बस्न थालेकी छु।’

महिनावारी भएका महिला घरमा बस्दा देउता रिसाएकाले फेरि छाउगोठ पठाउनुपरेको समाजका अगुवा भन्नेहरु नै बताउँछन्। ‘छाउगोठमा बस्दा दुःख हुन्छ, हामीले पनि त्यो अवस्था भोगेर आएका हौं’, स्थानीय ६२ वर्षीया लक्ष्मीदेवी उपाध्यायले भनिन्, ‘छोरीबुहारीले दुःख पाउँछन् भन्दैमा देउतालाई रिसाउन दिनु त भएन नि?’

यस क्षेत्रमा महिनावारी भएका महिलाले दहीदूध खाएमा र घर तथा भाँडाकुँडा छोएमा देउता रिसाउँछन् भन्ने अन्धविश्वास व्याप्त छ। रजस्वला भएकी महिलालाई झन् सफा राख्नुपर्ने तथा प्रशस्त पोसिलो आहार खुवाइ आराम गर्न दिनुपर्ने अवस्थामा शिक्षित, सम्पन्न र सभ्य भनिने घरका छोरीबुहारीले समेत यस्तो अवस्थामा घरमा बस्न र घरमै पाइने पोसिलो खानेकुरा दूधदही खान पाउँदैनन्। महिनावारीका बेला छोएमा कुलदेवता रिसाउने र परिवारमा हानि पुग्ने, शरीर सुक्दै जाने, अन्नबाली नफल्ने अन्धविश्वास छ।

चौकुने गाउँपालिकाकी उपाध्यक्ष निर्मला रानाले छाउपडी प्रथा उन्मूलन गाउँपालिकाका लागि सबैभन्दा ठूलो चुनौती रहेको बताइन्। सामुदायिक सुधार संस्था र जिल्ला प्रहरी कार्यालय सुर्खेतले भाबरमा शनिबार आयोजना गरेको कार्यक्रममा उनले अन्धविश्वासका कारण निर्मूल भइसकेको छाउपडी प्रथा पुनः जगाइएको बताइन्। ‘छाउपडी प्रथा अन्त्यका लागि छाउगोठ भत्काएर मात्रै हुँदो रहेनछ’, उनले भनिन्, ‘सबैभन्दा पहिले सामाजिक चेतना वृद्धि गर्ने खालका कार्यक्रम चाहिँदो रहेछ।’

प्रकाशित: १२ असार २०७५ ००:५० मंगलबार

फेरि छाउगोठमै फर्किए महिला