समाज

पर्यटकीय क्षेत्रको बारेमा जानकारी दिन ‘डिजिटल डिस्प्ले बोर्ड’ सञ्चालन

रसुवाको सदरमुकाम धुन्चेमा राखिएको ‘डिजिटल डिस्प्ले बोर्ड’।

रसुवा – रसुवाको स्थानीय तह र पर्यटकीय क्षेत्रको बारेमा जानकारी दिनका लागि ‘डिजिटल डिस्प्ले बोर्ड’ सञ्चालनमा ल्याइएको छ। 

लाङटाङ राष्ट्रिय निकुञ्जमा रहेका धार्मिक, ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको प्रवद्धन गर्ने, सरकारी कार्यालयहरुले प्रवाह गर्ने सेवाको बारेमा जानकारी दिने र जिल्लाको गोसाईकुण्ड गाउँपालिकाले प्रदान गर्ने सेवाको जानकारी दिनका लागि बोर्ड सञ्चालनमा ल्याइएको हो। 

पर्यटन प्रवद्धन गर्नुका साथै सार्वजनिक निकायले प्रदान गर्ने सेवा र राष्ट्रिय महत्वका कार्यक्रम तथा कार्यक्रमको बारेमा स्थानीयलाई जानकारी दिनका बोर्ड सञ्चालन गरिएको गोसाईकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले बताए। 

‘स्थानीय तहले प्रवाह गर्ने सेवाको बारेमा सबै नागरिकले कार्यालयमा पुगेर जानकारी लिन सक्दैन, अध्यक्ष तामाङले भने, हामीले डिजिटल बोर्डमा राखेपछि सबै नागरिकले सेवा बारे जानकारी लिन सक्छन्।’ यसमा गाउँपालिकाको ६ वटै वडाको जानकारी समेटिने उनले बताए। 

जिल्लास्तरको सबै सूचना समावेश गर्ने जानकारी दिँदै उनले संघीय सरकार र प्रदेश नम्बर ३ ले गर्ने महत्वपूर्ण निर्णय समट्ने बताए। ‘जिल्लाको नागरिकको हितका लागि हुने खालका निर्णय रसुवाली जनताले जान्न पाउनु अधिकार हो, उनले भने, यसका लागि हामीले नयाँ योजना बनाएका छौँ।’

लाङटाङ राष्ट्रिय निकुञ्जमा रहेको धार्मिक, ऐतिहासिक तथा पर्यटकीयस्थलको बारेमा बोर्डमा समेटिने निकुञ्जका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीले बताए। ‘निकुञ्जभित्र दुर्लभ वन्यजन्तु रेडपाण्डादेखि लाङटाङ हिमालसम्म रहेको छ, प्रमुख संरक्षण अधिकृत रेग्मीले भने, यसको बारेमा आवश्यक जानकारी दिनका लागि बोर्डको सुरुवात गरिएको हो।’ बोर्डमा १० मिनेटसम्मको डकुमेन्ट्री समेत समावेश गरिने उनले बताए। 

बोर्ड स्थापनाका लागि गोसाइँकुण्ड गाउँपालिका, लाङटाङ राष्ट्रिय निकुञ्ज र लाङटाङ राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र सहयोग आयोजनाको आर्थिक सहयोग रहेको छ। चार लाख ५० हजारको लागतमा बोर्ड स्थापना गरिएको हो। 

रसुवाको सदरमुकाम धुन्चेमा सोनीको ६५ इन्चको बोर्ड राखिएको बताइएको छ। निजी क्षेत्रले बोर्डबाट विज्ञापन गर्न चाहेमा शुल्क तिर्नुपर्ने गाउँपालिकाले जनाएको छ। सरकारी निकायले प्रदान गर्ने सेवा सुविधा बारेको बारेमा जानकारी दिनका लागि कुनै पनि शुल्क तिर्न नपर्ने बताइएको छ। 

प्रकाशित: ११ असार २०७५ १२:३१ सोमबार

पर्यटकीय क्षेत्रको बारेमा जानकारी डिजिटल डिस्प्ले बोर्ड सञ्चालन