समाज

किसानको प्रश्न : उखुको भुक्तानी कहिले पाउँछौं ?

सर्लाही- जिल्लाको दक्षिणी क्षेत्र स्थित विष्णु गाउँपालिका निवासी अजित सिंहलाई दुई दिनयता निकै छटपटी भएको छ। गत शनिबार साँझ प्रकाशित एसइई–२०७४ को परिणाममा छोराले राम्रो नतिजा निकाले पनि उनी भरपुर खुसी हुन सकेका छैनन्।

‘एसइईको रिजल्ट आयो, छोराले राम्रै नतिजा ल्याएको छ’, उनले भने, ‘तर अब कसरी पढाउने भन्ने चिन्ताले छोराको राम्रो नतिजामा खुसी साट्न सकिरहेको छैन।’ जिल्लाकै पश्चिम धनकौल स्थित अन्नपूर्ण सुगर मिलबाट उखुको भुक्तानी नपाउँदा उनी छोरालाई कसरी पढाउने भन्ने चिन्तामा डुबेका हुन्।

‘१० लाख रुपैंयाँ भन्दा बढी भुक्तानी पाउनुछ’, सिंहले गुनासो गरे, ‘घर व्यवहार नै चौपट भएको छ ।’ अघिल्लो वर्षकै डेढ लाख तथा यो वर्षको ९ लाख रुपैंया हाराहारी अन्नपूर्णबाट भुक्तानी नपाएको उनले बताए।

‘उद्योगमा पटक–पटक जाँदा कोही भेटिदैनन्’, उनले भने, ‘अब भुक्तानी पाउनका लागि कहाँ जाने र कसलाई गुहार्ने हो? रनभुल्लमा परेको छु।’ अन्य सबै बाली हटाएर उखु खेती गरेका सिंह जस्ता हजारौं किसान अन्नपूर्णबाट भुक्तानी नपाएर छटपटिएका छन्।

‘उखुको भुक्तानी समयमै नपाउँदा कतिपय किसानले तय भईसकेको छोरीको विवाह समेत गर्न पाएका छैनन्’, धनगढाका किसान लक्ष्मण रायले गुनासो गरे, ‘हाम्रो तिर छोरीको विवाहमा अत्यन्त बढी खर्च हुन्छ, अनि मुख्य बाली बेचेको पैसा नै नपाएपछि कसरी छोरी चेलीको विवाह गर्नु ?’ भुक्तानी रोकिँदा निमुखा किसानहरुको घरव्यबहार नै चौपट हुनलागेको रायले गुनासो गरे।

हरकठवाका संजिव सिंहले अन्नपूर्णले भुक्तानी नदिँदा किसानहरु साह्रै मर्कामा परेको बताए। ‘ठूला ठूला नेता र ठेकेदारहरुलाई भुक्तानी दिएको छ’, उनले भने, ‘उखुबाट आउने पैसा बाहेक अन्य केही आयश्रोत नहुने साना किसानलाई भुक्तानी रोँकिदा मर्नु न बाँच्नु भएको छ।’

वर्ष दिनको बाली बेचेबापत भुक्तानी नपाउँदा किसानहरु निकै समस्यामा परिरहेको नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनालीले गुनासो गरे। ‘वर्ष दिनको बाली दिएबापत समयमै भुक्तानी नपाउँदा किसानको दैनिक जनजीवन नै गाह्रो बनेको छ’, अध्यक्ष मैनालीले आरोप लगाए, ‘उद्योगपतिले किसानलाई भुक्तानीमा झुलाउने, मुल्य तयमा बखेडा झिक्ने लगायत अनेक बहानामा शोषण गरिरहेका छन्।’ उद्योगपतिद्वारा किसान माथि हुँदै आएको शोषणलाई सरकारले टुलुटुलु हेरेर पक्षपोषण गरिरहेको अध्यक्ष मैनालीको आरोप छ।

‘समयमै भुक्तानी नगरी उद्योगपतिले ठूलो रकम ‘होल्ड’ गर्दा किसान छटपटीरहेका छन्’, मैनालीले आरोप लगाए, ‘किसानको अर्बौ रकमहोल्ड गरेर उद्योगपति भने ब्याज खाँदै बसेका छन् ।’ एक विगाह क्षेत्रफलमा उखु खेती गरी उद्योगसम्म पुर्‍याउँदासम्म १ लाख रुपैंया भन्दा बढी लागत लाग्ने गरेको किसान बताउँछन्। गतवर्ष कार्तिकमा ऋण खोजेर लगाएको उखु बल्ल यस वर्षको माघमा काटेर विक्री गरेका किसान समयमै भुक्तानी नपाउँदा मर्माहत बनेका छन्।

अन्नपूर्णले यसवर्ष १२ लाख ५० हजार क्वीन्टल उखु क्रसिङ गरेको थियो। किसानहरुले उद्योगको मुलगेटमै तालाबन्दी गरेका कारण कुनै कारोबार नभएको उखु प्रबन्धक अजित सिंहले जानकारी दिए। ‘डेढ महिनादेखि उद्योगको मुलगेटमा ताला लगाईएको छ’, उनले भने, ‘चिनी निकासी समेत गर्न पाएका छैनौं।’ अघिल्लो वर्षको केही र गत माघ यताको उखुको भुक्तानी बाँकी रहेको उनले बताए।

अन्नपूर्णले यसवर्ष क्रसिङ गरेको १२ लाख ५० हजार क्वीन्टलको सरकारले तोकेको मुल्य अनुसार ६६ करोड ४० लाख रुपैंया किसानलाई भुक्तानी गर्नुपर्ने हुन्छ। तर यति धेरै रकम रोकिँदा किसानहरु मर्कामा परेका छन्।

४० लाख २० हजार क्वीन्टल उखु क्रसिङ गरेको ईन्दुशंकरले भने गत जेठ १५ गतेसम्म प्रतिक्वीन्टल ५३१ रुपैयाँ २० पैसाका दरले दैनिक २ करोडको दरले तालिका बनाएर किसानको बैंक खातामा भुक्तानीगर्दै आएको थियो। तर आगामी आर्थिक वर्षको बजेट घोषणासँगै भुक्तानी रोकेको सो उद्योगले असार १ गतेबाट प्रति क्वीन्टल ७० रुपैयाँ ६४ पैसा कटाएर पुनःभुक्तानी सूरु गरेको छ। उद्योगले सरकारबाट चिनीमा हुने भ्याट छुट वापतको रकम कटाएर भुक्तानी सूरु गरेको हो।

बगदहमा यसैवर्ष क्रसिङको ट्रायल समेत गसिकेको अर्को महालक्ष्मी सुगर मिल समेत गरी ३ वटा चिनी उद्योग रहेको सर्लाही मुलुकमै सबैभन्दा बढी अर्थात साढे २१ हजार हेक्टर क्षेत्रफल हाराहारीमा उखु खेती हुने जिल्ला हो। यस वर्ष भने अझ बढेर २४ हजार हेक्टर क्षेत्रफलमा उखु खेती भएको छ।

प्रकाशित: ११ असार २०७५ ११:५१ सोमबार

किसानको प्रश्न उखुको भुक्तानी पाउँछौं