बनेपा– काभ्रेको देवीटारबाट बनेपातर्फ आउँदै गरेको बा४ख ३४१२ नम्बरको मिनिट्रक बनेपाको रबिओपी सडकबाट २० मीटर तल खस्दा एकजनाको मृत्यु भएको छ भने अन्य ५ घाइते भएका छन्।
दुर्घटनामा गम्भीर घाइते भएकी मण्डन देउपुर–१२ बस्ने ४० वर्षीया लालीमाया लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी निरीक्षक रबिराज थपलियाले जानकारी दिएका छन् ।
उनका अनुसार घाइते हुनेमा काभ्रे मण्डन देउपुर नगरपालिका- १२ की ५० वर्षीया ठुलीमाया तामाङ, ४८ वर्षीया ज्ञानीमाया तामाङ, ४२ वर्षीया धनमान तामाङ, रहेका छन्। यस्तै साेही ठाउँमा ३५ वर्षीया सुदन तामाङ, खानीखोला गाउँपालिका–४, का ४२ वर्षीया मानबहादुर तामाङ, र पनौती नगरपालिका–४ का ३१ वर्षीया सानुकान्छा तामाङ रहेका छन्।
घटनास्थलमा रहेका इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक सुनिलजंग शाहका अनुसार सडकबाट खसेको मिनिट्रकमा आगो लागेको थियो । यतिखेर आगो नियन्त्रणमा आएको उनले जानकारी दिएका छन् । सो मिनिट्रकमा १० जना यात्रुहरु रहेको स्थानीयले बताएको प्रहरीले जनाएको छ ।
प्रकाशित: ११ असार २०७५ ०६:०४ सोमबार