समाज

छोरीको लगाव, आमाको समर्पण

शारीरिक रूपमा अशक्त छोरी सुलोचनालाई डो-याएर कलेल लैजाँदै आमा मैया भोयद्यु। भिडियो : दिपेन्द्र रोक्का

काठमाडौं - आमाले सन्तानलाई माया गर्नु प्राकृतिक नियम हो। हरेक आमामा मातृवात्सल्य गुण हुन्छ नै। सन्तानको शिक्षाका लागि त्याग गर्ने आमा भने विरलै हुन्छन्। यस्तै आमा हुन् भक्तपुर लिवालीकी मैया भोयद्यु। छोरीको शिक्षाप्रति उनको समर्पण सबैका लागि प्रेरणाको स्रोत बनेको छ। शारीरिक रूपमा अशक्त छोरीलाई मैयाले नर्सरीदेखि अहिले स्नातक तहसम्म डो-याएर शिक्षालय पु-याउँदै आएकी छन्। सुलोचना अहिले स्नातक पहिलो वर्षमा अध्ययरत छिन्।

सुलोचना भोयद्युलाई उनकी आमा मैयाले हात समाएर विद्यालय लैजान थालेको अढाई दशकभन्दा बढी भइसकेको छ। ५२ वर्षीया मैयाले २८ वर्षीया सुलोचनालाई नर्सरीदेखि बीए प्रथम वर्षमा पुग्दासम्मा डो¥याएरै घर र शिक्षालयसम्म पु-याउँदै आएकी छन्। उनी छोरीको पढाइ नसकिएसम्म यो यात्रालाई निरन्तरता दिने बताउँछिन्।

‘कतिले त यस्ती शारीरिक रुपमा अशक्त छोरीलाई पढाएर के हुन्छ भनेर भन्ने गरेका छन्,’ मैयाले भनिन्, ‘मैले त यस्तै छोरीलाई पढाइ धेरै जरुरी छ भन्ने जबाफ दिने गरेकी छु।’

छोरीको पढाइप्रतिको लगाव र इच्छा तथा आफ्नो माया र समर्पणको तालमेलले अहिलेसम्मको यात्रा सहज भएको मैयाले बताइन्। ‘मैले छोरीलाई होइनन् छोरीको मायाले मलाई डो-याएको हो,’ उनले भनिन्, ‘सुलोचनालाई विद्यालय लैजाँदा–ल्याउँदा मलाई खुसी लाग्छ।’ छोरीको उपचारका लागि धेरै प्रयास गरे पनि सम्भव नभएपछि जसरी पनि शिक्षा दिलाउने सोच पलाएको उनले सुनाइन्। त्यही सोचले यो यात्रा यहाँसम्म आएको छ। ‘अहिले मैले सकेसम्म छोरीलाई डो-याउँछु,’ उनले भनिन्, ‘त्यसपछि छोरीकै पढाइले उसलाई डो-याओस् भन्ने चाहना छ।’ मैया राम्रोसँग लेखपढ गर्न सक्दिनन्। तर पढाइप्रति छोरीले देखाएको लगावलाई उनले रोक्न सकिनन्। ‘मैले स्कुल नलैजाँदा ऊ दिनभर रोएर बस्छे,’ उनले भनिन्, ‘त्यसैले म बिरामी भए पनि उसलाई स्कुल लैजानुपर्छ।’ छोरीको खुसीका लागी आफूले जीवन समर्पण गरेकोे मैयाले बताइन्। ‘मेरा लागि पहिलो काम छोरीको पढाइ हो,’ उनले भनिन्, ‘त्यसपछि मात्र अन्य काम हुन्छ।’

सुलोचनाको पढाइप्रतिको लगाव र आमा मैयाको छोरीप्रतिको समर्पणले धेरेको मन छोएको छ। ‘निरन्तर छोरीलाई डो-याएर विद्यालय लैजाने–ल्याउने आमाको योगदान अतुलनीय छ,’ बागीश्वरी कलेजका प्राचार्य धन कुमार श्रेष्ठ भन्छन्, ‘सुलोचना र उनकी आमा मैया सबैका लागि प्रेरणास्रोत हुन्।’ छोरीलाई कलेज भर्ना गर्ने समयमा आमाले देखाएको आत्मविश्वासले सबैको मन छोएको उनले सुनाए।

‘उहाँले मेरी छोरी सुलोचनाले अन्य सक्षमले जसरी नै पढ्छे, तपाईंहरुले चिन्ता गर्नुपर्दैन, भर्ना गर्नुप¥यो भन्नुभएको थियो,’ श्रेष्ठ सम्झन्छन्, ‘उहाँको कुरा साँचो भएको छ।’ कक्षा ११ र १२ सोही कलेजबाट पास गरेकी उनले बिए पनि त्यहीं पढ्छिन्। यसअघिको औपचारिक शिक्षा उनले शारीरिक रुपमा अशक्तका लागि खोलिएको भक्तपुरस्थित एक विद्यालयबाट हासिल गरेकी हुन्।

सुलोचनालाई कलेलमा अन्य विद्याथीले पनि सहयोग गर्छन्। आमाले बिहान सुलोचनालाई कलेज पु-याएर छाडेपछि उनका साथीहरुले आवश्यक सहयोग गर्छन्। ‘म ६ महिनादेखि सुलोचनाको साथी हुँ,’ अस्मिता बासीले भनिन्, ‘उनी निकै रमाइली छिन्।’ सुलोचनाले बोलेको नयाँ मान्छेले राम्रोसँग नबुझे पनि आफूले प्रस्ट बुझ्ने उनले बताइन्। हातखुट्टा नचल्ने सुलोचना राम्ररी बोल्न पनि सक्दिनन्। उनले पुस्तक पढ्ने र सुन्ने गर्छिन्। परीक्षामा उनले भनेको बुझ्नेलाई सहयोगीका रुपमा राखेर लैख्न लगाइन्छ।

सुलोचनामा सोच्ने क्षमता राम्रो रहेको कलेजका अर्का शिक्षक भानु हुमागार्इंले बताए। ‘रमाइलो प्रसंगको कुरामा अन्य विद्यार्थीले भन्दा पहिल्यै सुलोचना मुस्कुराएको थुप्रै पटक देखेको छु,’ उनले भने, ‘यिनको सोच्ने क्षमता निकै राम्रो छ।’

मैयाका दुई छोरा पनि छन्। उनीहरु आआफ्नो काममा लागेका छन्। अरुका लागि जे भए पनि आफ्ना लागि यही छोरी मुटुको टुक्रा भएको उनले सुनाइन्। सुलोचनाले पढेर भविष्यमा समाजसेवा गर्ने सोच राखेकी छिन्। त्योभन्दा पनि पहिले अहिले आफ्नो सेवा गर्ने आमालाई सुख दिने इच्छा छ उनको। ‘आमा तिमी अहिले गर, म पछि तिमीलाई गर्छु भन्छें छोरी ,’ मैयाले भनिन्, ‘पढाइले उसमा आएको यो हिम्मतले मलाई निकै हौसला मिलेको छ।’

आफू नसक्ने भएपछि छोरीलाई कसले डो-याउँछ भन्ने चिन्ताले चाहिँ सधैं सताउने मैयाले बताइन्। ‘मैले नहेरे, मैले पढाउन नलगे कसले लैजान्छ उसलाई?’ उनले भनिन् ‘त्यसैले म धैरै समयसम्म उसैका लागि बाँच्नेछु।’

प्रकाशित: ८ असार २०७५ ००:४१ शुक्रबार

छोरीको लगाव आमाको समर्पण