समाज

बाढीले पाइप बगाएपछि खानेपानीको हाहाकार

बाढीले पाइप बगाएका कारण धारामा पानी नआएपछि खानेपानी लिन छिमेकी गाउँको धारामा जम्मा भएका स्थानीय । तस्बिर : नागरिक

सर्लाही– बाढीले खानेपानीको पाइप बगाएपछि जिल्लाको उत्तरी चुरे क्षेत्रस्थित कालिन्जोरका डेढ सय घरधुरीमा खानेपानीको हाहाकार भएको छ। 

झण्डै तीन साताअघि बाँके खोलामा आएको बाढीले खानेपानी आयोजनाको पाइप बगाउँदा उक्त क्षेत्रका गाउँमा खानेपानीको समस्या आइलागेको हो। ईश्वरपुर नगरपालिका–१२ कालिन्जोरमा ल्याइएको खानेपानी पाइप बगाउँदा वडा नं. ७ र ८ का करिब डेढ सय घरधुरीमा पिउने पानीको अभाव भएको स्थानीय विन्दा लुंगेलीले जानकारी दिइन्। 

चुरे पहाडमा रहेको खानेपानीको इन्टेकबाट गाउँमा वितरणका लागि ल्याइएको पाइप बगाएका कारण गाउँको धारामा पानी नआएपछि स्थानीय वासिन्दा लामो समय धाएर छिमेकी गाउँमा खानेपानी लिनजान बाध्य छन्। कालिन्जोरको फूलजोर, स्कुट टोल, चाकलटोल र एनसेल टावर रहेको बस्ती आसपासमा पिउने पानीको अभाव भएको छ।  

छिमेकी गाउँमा पानी लिन जाँदा घण्टौं समय लाग्ने र पालो समेत कुरेर बस्नुपर्ने भएपछि कतिपय स्थानीयले भने फुलजोर खोलाकै कुवाबाट पानी निकालेर खाने गरेको लुंगेलीले बताइन्। ‘मान्छेले त जसोतसो पानी ल्याएर खाएका छौँ, बस्तुभाउलाई पु¥याउन निकै समस्या भएको छ’, लुंगेलीले गुनासो गरिन्, ‘हरेक बर्षायाममा खोलाले पाइप बगाएर हैरान पार्छ, हिउँदका महिनामा पानीको मुहानमै पानी सुक्दा धारामा पानी नै आउँदैन्।’

हिजोआज त्यस गाउँका मानिस पानी लिनका लागि साइकल, मोटरसाइकलमा गाग्रो झुण्डाउँदै छिमेकी गाउँसम्म पुग्ने गरेका छन्। स्थानीय शोभा थापाकाअनुसार टाढाका बासिन्दालाई छिमेकी गाउँ पुगेर पानी ल्याउन दिनभर लाग्ने गरेको छ। छिमेकी गाउँमा पनि सीमित धारामा धेरै मानिसले पानी भर्नुपर्दा झै–झगडा र विवाद समेत हुने गरेको स्थानीयले गुनासो गरेका छन्।

ईश्वरपुर नगरपालिका–१२ का वडाध्यक्ष नागेन्द्रकुमार पाख्रिनले तत्काल पानीको समस्या समाधान गर्न पाइप किन्ने तयारी भइरहेको जानकारी दिए।

जिल्लास्थित उत्तरी चुरे क्षेत्रमा पर्ने कालिन्जोर, परवानीपुर, नारायणखोला, पत्थरकोट, अत्रौली, ढुंग्रेखोलालगायतगाउँमा हरेक वर्षायाममा बाढी पहिरोले पाइप बगाउँदा र हिउँदमा मुहान सुकेका कारण खानेपानीको हाहाकार हुने गरेको छ। 

प्रकाशित: ७ असार २०७५ १२:३८ बिहीबार

बाढीले पाइप बगाएपछि खानेपानीको हाहाकार